धरान: धरानको चर्चित फुटबल प्रतियोगिता २२ औं टुबोर्ग गोधुली रनिङ कप आगामी पुष महिनामा हुने भएको छ । 

आयोजक गोधुली क्लबका अनुसार यो बर्ष २२ औं सँस्करण पुष २४ गतेदेखि माघ ८ गतेसम्म हुनेछ । प्रतियोगिता धरान १६ स्थित रंगशालामा अयाोजना हुने उपाध्यक्ष सतिस केसीले जानकारी दिए । मंगलबार क्लबका पदाधिकारीकारी, सल्लाहकार तथा संस्थापकहरुको संयुक्त बैठकले यो निर्णय गरेको पनि उनले जानकारी दिए । 

प्रतियोगितामा धरानका २० वटै वडाको टिमलाई सहभागिताको लागि क्लबले पत्राचार गर्नेछ । सकेसम्म सबै वडाको टिम प्रतियोगितामा सहभागी हुने अपेक्षा क्लबको छ । गत बर्ष पनि २० वटै वडाको टिमले सहभागिता जनाएको थियो । प्रतियोगिताको गत बर्षको विजेताले नगद १ लाख ११ हजार १ सय ११ रुपैया र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैया पाएको थिो । यसपाली पुरस्कार रकम वृद्धि गर्ने लक्ष्य लिए पनि कति वृद्धि हुने भन्ने निर्णय पछि हुने उपाध्यक्ष केसीको भनाई छ । 

गत सँस्करणमा पहिलो पटिक वडा नं १४ च्याम्पियन भएको थियो । वडा नं १४ ले पहिलो पटक फाइनल खेलेर वडा नं १६ लाई पराजित गर्दै च्याम्पियन भएको थियो । वडा नं १४ ले गत सँस्करणमा फाइनलसहित ४ वटा खेल खेलेको थियो । ती चार वटै खेलमा वडा १४ ले टाइब्रेकरमा जितेको थियो । वडा ११, १८ र १९ लाई टाइब्रेकरमा हराउदै फाइनल पुगेको वडा १४ ले फाइनलमा पनि वडा १६ लाई टाइब्रेकमा नै हराएको थियो ।