धरान: नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ ले प्रदेश सांसद चन्द्रप्रसाद श्रेष्ठ(डिआइजी)लाई प्रदेश सरकारको मन्त्री बनाउन माग गरेको छ ।

मंगलबार धरानमा आयोजित क्षेत्रीय तथा प्रदेशसभा अधिवेशनबाट निवार्चित कार्यसमितिलाई बधाई तथा प्रमाण पत्र वितरण कार्यक्रममा क्षेत्र नं १ सभापति सुजेन्द्र तामाङले यस्तो माग गरेका हुन् । उनले कार्यक्रमका प्रमुख अतिथि एवं कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालासमक्ष सांसद श्रेष्ठलाई मन्त्री बनाउन आग्रह गरे । 

सभापति तामाङले सांसद श्रेष्ठको पार्टीमा लामो योगदान भएको साथै कम्युनिष्ट गढ भनिएको धरान र सुनसरी क्षेत्र नं १ मा कांग्रेसलाई जिताउनको लागि पनि मन्त्री बनाउन आवश्यक भएको बताए । उनले भने,‘हामी आग्रह गछौ, चन्द्रप्रसाद श्रेष्ठलाई कुनै न कुनै मन्त्रीको जिम्मेवारी दिनुपर्छ ।’ तामाङले कांग्रेसको केन्द्रीय सभापतिमा डा.कोइरालालाई जिताउन सुनसरी क्षेत्र नं १ ले अभियान चलाउन पनि बताएका थिए । 

sujendra

सांसद श्रेष्ठले अबको निर्वाचनमा क्षेत्र नं १ को २७ वटै वडामा निर्वाचनमा कांग्रेसलाई जिताउने अभिभारा नयाँ कार्यसमितिलाई भएको बताए । वडा, मेयर, उपमेयरदेखि प्रदेश र केन्द्रको निर्वाचनमा विजयी गराउन अहिलेदेखि नै लागिपर्न पनि उनले कार्यकर्ताहरुलाई आग्रह गरे । चुनावमा उठ्ने आकांक्षा सबैको भएपनि जित्नसक्ने व्यक्तिलाई मात्र टिकट दिनुपर्ने उनले बताए । श्रेष्ठ १ नम्बर प्रदेशसभामा समानुपातिकबाट सांसद छन् ।