धरान: महेन्द्र बहुमुखी क्याम्पस धरानको मोही हकदाबी भएको मुद्दामा भुमी सुधार तथा मालपोत कार्यालय सुनसरीले क्याम्पसको विपक्षमा फैसला गरेको छ ।

अर्धन्यायिक निकाय भुमीसुधार कार्यालय सुनसरीले मृत्यु भइसकेका मोही डम्बरबहादुर घिमिरेको नामको मोही उनको हकवालामा नामसारी गर्ने फैसला गरेको हो । क्याम्पसको स्रेस्तामा मोही कामय भएको घिमिरेको छोरा यज्ञबहादुर क्षेत्रीले मोही नामसारीको लागि भुमीसुधार कार्यालयमा निवेदन दिएको थियो । उनको निवेदन पछि क्याम्पस प्रशासनले पनि मोही दाखिल खारेजको निवेदन दिएको थियो । भुमी सुधारले भने मोही पक्षको हकमा फैसला गर्दै नामसारी गरिदिने फैसला गत असोज २५ गते नै गरेको हो ।

सार्वजनिक सम्पत्ति संरक्षण गर्नुपर्नेमा व्यक्तिलाई हुने गरि फैसला भएकोमा समाजसेवी प्रेमप्रसाद पराजुली दुःख व्यक्त गर्छन् । उनले फैसलाबारे जानकारी पाएलगत्तै क्याम्पस प्रशासनले धरानका सरोकारवाला पक्षसँग समन्वय नगरेमा पनि आशंका व्यक्त गर्छन् । ‘फैसला आएपछि यहाँ सरोकारवाला पक्षलाई प्रशासनले जानकारी दिनुपदैन ? ’उनी भन्छन् । 

करिब २ महिना अघि नै मोहीको हक नामसारी गरिदिन फैसला भएपनि क्याम्पसले भने भर्खर मात्र जानकारी पाएको हो । यो फैसलाबारे क्याम्पस प्रशासनले पनि धरानका सरोकारवाला पक्षहरुलाई जानकारी गराएको छैन । भुमाफियाहरुको करोडौंको जग्गा हत्याउन मोहीका छोरालाई अघि सारेर भुमीसुधारमा मोहीयानी हक हस्तान्तरणको लागि निवेदन दिन लगाएका थिए । क्याम्पसको जग्गा हत्याउन भुमाफियाको गिरोह सक्रिय भएपनि विद्यार्थी संगठनहरुले आन्दोलन गरेका थिए। 

mmc-dharan

क्याम्पसको विपक्षमा असोज २५ गते मुद्दा फैसला भए पनि क्याम्पसलाई २ दिन अघि सोमबार मात्र जानकारी आएको क्याम्पस प्रमुख दामोदर भण्डारीले बताए । उनले यो फैसलाविरुद्ध पुनरावेदन गर्ने तयारी भइरहेको पनि जानकारी बताए । त्यसैको लागि आफु विश्वविद्यालय प्रशासन, पदाधिकारी र कानुनी सल्लाहकारसँग आवश्यक परामर्श गर्न आफु काठमाण्डौं जादै गरेको पनि उनले बताए । ‘दशैं विदाको अघिल्लो दिन फैसला भएको रहेछ । त्यसपछि लामो विदा भयो, क्याम्पसलाई यो सोमबार मात्र जानकारी आयो,’उनले भने,‘यो फैसलाविरुद्ध पुनरावेदन गछौं, कानुनी लडाई गछौ ।’

२०३४ सालमा साविक धरान ९ (क) हाल धरान ११ स्वास्तिक चोकमा पर्ने कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गा श्यामगोविन्द श्रेष्ठबाट क्याम्पसले किनेको थियो । उक्त जग्गाको स्रेस्तामा मोही उल्लेख भएका डम्बरबहादुर घिमिरेको मृत्यु भइसकेको छ । मोही घिमिरेलाई त्यसबेला नै चित्त बुझाएर जग्गा किनबेच गरिएको भएपनि लगतकट्टा नगरिदा अहिले भुमाफियाहरुले जग्गा हड्प्न उनका छोरा यज्ञबहादुर क्षेत्रीलाई अघि सारेका हुन् । उक्त जग्गाको मुल्य अहिले करोडौं रुपैया पर्छ । यज्ञबहादुरले बुबाको नाममा भएको मोही हक नामसारीको लागि ३ बर्षअघि भुमिसुधार तथा मालपोत कार्यालय इनरुवामा निवेदन दर्ता गरेका थिए ।