धरान: शुक्रबारदेखि सुनसरीको इटहरी उपमहानगरपालिकासहित विभिन्न ९ स्थानीय तहमा मतदाता नामावली संकलन बिशेष कार्यक्रम हुने भएको छ । 

धरान उपमहानगर, इनरुवा नगर र हरिनगर गाउँपालिकाबाहेकका स्थानीय तहरुमा मतदाता नामावली संकलन बिषेश कार्यक्रम शुक्रबारदेखि हुन लागेको हो । यी तीन स्थानीय तहमा भने नियमित नामावली संकलन भइरहेको कारण बिशेष कार्यक्रम सञ्चालन नहुने प्रमुख नाम दर्ता अधिकारीको कार्यालय, सुनसरीले जनाएको छ । 

कार्यालयका अनुसार शुक्रबारदेखि पुष २ गतेसम्म इटहरी, झोक्राहा नरसिंह गाउँपालिका, रामधुनी नगरपालिका, देवानगञ्ज गाउँपालिका र बर्जु गाउँपालिकाको कार्यालयमा मतदाता नामावली संकलन कार्यक्रम हुनेछ भने कोशी गाउँपालिका, बराहक्षेत्र गाउँपालिका, दुहबी गाउँपालिका र गढी गाउँपालिकामा पुष ४ गतेदेखि १८ गतेसम्म मतदाता नामावली संकलन बिशेष कार्यक्रम सञ्चालन हुनेछ ।

इटहरीले गर्यो यस्तो निर्णय

मेयर द्धारिकलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले निर्वाचन आयोगले संचालन गर्ने मतदाता संकलन कार्य शुक्रवारदेखि पुस २ गतेसम्म ब्यवस्थित ढंगले संचालन गर्ने निर्णय गरेको हो । मंसीर १७ र १८ गते इटहरी वडा नम्वर १०, ११, १२ र १३ नम्वरको मतदाता नामावली संकलन हुने छ । 

यस्तै, मंसीर १९ र २० गते इटहरी वडा नम्वर ५ र ९ को, मंसीर २१ र २२ गते वडा नम्वर १, १९ र २० नम्वर वडाको, मंसीर २३, २४ र २५ गते वडा २, ३, १५ र १६ वडाको मतदाता नामावली दर्ता गरिने छ । 

यसैगरि, मंसीर २६ र २७ गते वडा नम्वर १७ र १८ को, मंसीर २८ र २९ गते वडा नम्वर ७, ८ र १४ को तथा पुष १ र २ गते वडा नम्वर ४ र ६ को नामावली दर्ता गर्ने कार्यक्रम तय भएको उपमहानगरका निर्वाचन सम्पर्क ब्यक्ति फाल्गुनी प्रसाद काफलेले जानकारी दिए । मतदाता नामावली दर्ता गर्न आउदा नेपाली नागरिकताको सक्कल प्रमाण पत्र ल्याउनुपर्ने छ । 

यसैगरि वाहय जिल्ला वाट वसाई सराई आएको भए वसाई सराई प्रमाण पत्र र वाहिर जिल्लावाट विवाह भई आएको भए विवाह दर्ताको सक्कल प्रमाण पत्र ल्याउनुपर्ने जनाइएको छ । जिल्ला निर्वाचन कार्यालय सुनसरीको परिपत्र अनुसार सवै वडाको मतदाता संकलन इटहरी उपमहानगरपालिका परिसरवाट हुनेछ । मेयर चौधरीले मतदाता नामावलीमा कोही नछुटुन भनेर जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज सवैसँग समन्वयका लागि आग्रह गरे । 

matdata1