धरान: चर्चित ब्याण्ड रबिन एंड द न्यु रेभुलेसनको धरानमा पुष ३ गते शनिबार लाइभ कन्सर्ट हुने भएको छ ।

टुबोर्ग मेगा लाइभ कन्सर्टमा प्रस्तुती दिन रबिन एंड द न्यु रेभुलेसन ब्याण्डका मुख्य गायक रबिन तामांग अहिले 'रियालिटी शो ब्याण्ड च्याम्पियन नेपाल'को शुटिंगमा व्यस्त छन्। बिभिन्न  नेपाली चलचित्रमा अभिनय समेत गरेको गायक तामांगको केटा-केटी, दम मरो दम, चिसो चिसो हावामा, आधुनिक आँगनमा, म मौनतामा, भेटे मैले शिबाजी, जति माया लाए पनि लगायतका चर्चित गीतहरु छन् । उनी चार बर्ष अघि न्यु यर इभ कन्सर्टमा पनि धरान आएका थिए । 

कन्सर्ट टुबोर्गको प्रस्तुती तथा सिल्भर इन्टरटेनमेन्टको आयोजनामा धरानको पब्लिक हाईस्कुलको मैदानमा हुन लागेको हो । कन्सर्टमा धरानका दुई स्थानीय प्रतिभाहरु हिना मल्ल बराइली र दिपिका बस्नेतको पनि प्रस्तुती रहनेछ। हिना मल्ल बराइली पहिलो नेपाल आइडलको टप टेन पुगेर चर्चामा आएकी गायिका हुन् भने दिपिका बस्नेत पनि नेपाल स्टारकी प्रतियोगी हुन्। कोभिडको कारणले दुई बर्ष देखि कुनै पनि ठुलो कन्सर्टहरु धरानमा भएको छैन । कार्यक्रम स्थलमा प्रवेशको लागि मास्क र सेनिटाईजर अनिवार्य गरिने आयोजकको भनाई छ ।