धरान: नेपाली चलचित्रका बरिष्ठ निर्देशक तथा टेलिभिजन कार्यक्रम प्रस्तोता दीपक श्रेष्ठलाई न्युयोर्कमा एक समारोहका बीच न्युयोर्क नेवाः गुठीले सम्मान गरेको छ । 

बरिष्ठ निर्देशक श्रेष्ठलाई न्युयोर्क नेवा गुठीका संस्थापक बीके नेवा, संस्थापक अध्यक्ष आदित्य महर्जन तथा वर्तमान अध्यक्ष विजयमान सिंहले सम्मान गरेका हुन् । उनलाई नेपाली चलचित क्षेत्रमा गरेको योगदानको कदर स्वरुप सम्मान(पत्रले सम्मान गरिएको थियो । कार्यक्रम प्रस्तोता, टेलिभिजन प्रस्तोता हुँदै गाउँले नामक सुपरहिट चलचित्रबाट निर्देशकको रुपमा श्रेष्ठ चलचित्र उद्योगमा प्रवेश गरेका थिए । उनले ३० भन्दा बढी नेपाली चलचित्रको  निर्देशन गरेका छन् । 

dipak

श्रेष्ठ लामो समयको अन्तरालपछि घिन्ताङ नामक फिल्म सकेर अमेरिकाको भ्रमणमा गएका हुन् । सोही कार्यक्रममा नेवाःगुठीले नेवारी कला र संस्कृति जोडेर एउटा छोटो फिल्म बनाउने पनि निर्णय गरेको जनाएको छ। उक्त फिल्म बनाउने जिम्मेवारी निर्देशक श्रेष्ठलाई नै दिने निर्णय गरिएको छ ।

श्रेष्ठले आफूलाई न्युयोर्क नेवा गुठीले सम्मान गरेकोमा धन्यवाद ज्ञापन गर्दै अमेरिकामा बसेर पनि नेवार समुदायले आफ्नो भाषा, कला संस्कृतिको संरक्षणमा जुटेकोमा गर्व लागेको बताए । ज्याक्सन हाइट्सको उडसाइड क्याफेमा भएको कार्यक्रम अध्यक्ष विजयमान सिंहले स्वागत गरेका थिए भने गुठीका सचिव सन्तोष महर्जनले सञ्चालन गरेका थिए ।