धरान: चार दशकअघि महेन्द्र बहुमुखी क्याम्पसले धरान ११ स्वास्तिका चोकमा १७ कट्ठा ११ धुर जग्गा खरिद गरेको थियो । उक्त जग्गामा विगत तीन बर्षदेखि मोही विवाद जारी छ ।

गत असोज २५ गते भुमिसुधार कार्यालय सुनसरीले क्याम्पसको जग्गामा मोही रहेका डम्बरबहादुर घिमिरेको छोराको नाममा मोही हक नामसारी गरिदिने निर्णय गरेको थियो । यो निर्णयले क्याम्पसको करोडौंको जग्गा आधा गुम्ने त होइन ? भन्ने आशंका पनि छ । यद्यपी, क्याम्पस प्रशासनले भुमिसुधारको निर्णयविरुद्ध पुनरावेदन गर्ने तयारी गरेको छ । जग्गा किनबेच भएको चार दशकपछि मोही विवाद निस्कनुको पर्दा पछाडिका खेलाडी को को हुन् ? भविष्यमा उघ्रदै जानेछ । 

यही मोही प्रकरणमा तत्कालिन जग्गाधनी एवं श्यामगोविन्द श्रेष्ठले शुक्रबार पहिलो पटक सार्वजनिकरुपमा आफ्नो धारणा राखेका छन् । क्याम्पस प्रशासनले आयोजना गरेको सार्वजनिक बहसमा उपस्थित भएका श्रेष्ठले तत्कालिन समयमा मोही भनिएका व्यक्तिहरुलाई खुशी बनाएर नै किनबेच भएको जानकारी दिए । उनका अनुसार त्यसबेला क्याम्पसमा पैसा (बजेट) आएको थियो । सोही बजेटले तत्कालिन प्रमुखले आफ्नी आमासँग कुरा गरेर उक्त जग्गा खरिद गरेको पनि श्रेष्ठले बताए । ‘मोही सबैलाई खुशी पारेर दिएको हो, उनीहरु घर भत्काएर नै आफ्नो ठाउँतिर गएको हो,’श्रेष्ठले भने ।

mahendra-campus-purja

उनले क्याम्पस, सामाजिक व्यक्तिहरु सबै बसेर किनबेच गरिएको पनि बताए । सुटुक्क किनबेच नभएको भन्दै उनले अहिले एक्कासी विवाद आएको पनि उनले बताए । ‘साटकसुटक काम भएको होइन, पुर्जामा मोही भए पनि उनीहरुलाई खुशी पारेर नै किनबेच भएको हो । सबैलाई मिलाएर गरेको हो । उनीहरुलाई मर्का परेको भए त्यतिबेलै अरुले पनि भनिहाल्थ्यो नि,’उनले भने,‘भुमाफियाले गर्दा हो ।’ । 

श्रेष्ठले महेन्द्र क्याम्पसको जग्गा उदाहरण मात्र भएको भन्दै धरानको सम्पुर्ण सार्वजनिक जग्गाहरु जोगाउनुपर्ने पनि बताए । यसको लागि समुह बनाउनुपर्ने, र स्थानीय सरकारले पनि चासो दिनुपर्ने उनले बताए । उनले भने,‘स्कुल कलेजको मात्र होइन, सबै सार्वजनिक जग्गाहरु खोजविन गरेर संरक्षण गर्नुपर्ने देखियो ।’