धरान: क्याम्पसको जग्गा संरक्षण गर्न वेवास्ता गरेको भन्दै महेन्द्र बहुमुखी क्याम्पस धरानका विद्यार्थीहरुले क्याम्पस प्रमुखको कुर्सी जलाएका छन् ।

विद्यार्थी संगठनहरुले आज दिउँसो क्याम्पस प्रमुख दामोदर भण्डारीको कुर्सी जलाएका हुन् । उनीहरुले संघर्ष समिति बनाएर जग्गा संरक्षणको लागि आन्दोलनको घोषणा पनि गरेका छन् । विद्यार्थी नेता बुद्रोस लिम्बूले वारेसमार्फत क्याम्पस प्रशासनले तारेख बुझेको र ३ पटक पेशी तोकिदा पनि वकिल पठाएर बहस नगर्दा प्रशासन र क्याम्पस प्रमुखमाथि नै प्रश्न चिह्न खडा भएको बताए । क्याम्पस प्रशासन, जनप्रतिनिधि र भुमाफियाबीच मिलेमतो भएको आरोप लगाउदै उनले बाध्य भएर विरोध स्वरुप कुर्सी जलाउनु परेको बताए । उनले मंगलबार (भोली)क्याम्पसमा जग्गाको बिषयमा सबै पक्षसँग छलफल राखिएको पनि बताए ।

mmc-dharan 1

निवर्तमान स्ववियू सभापति सागर चेम्जोङले पनि क्याम्पस प्रशासनकै कमजोरीले करोडौंको जग्गा गुम्ने अवस्थामा पुगेको बताए । उनले क्याम्पस प्रशासनलाई जिम्मेवार बनाउन आन्दोलन गर्नुपरेको बताए । प्रशासनले ११ पटक तारेख धाएको र ३ पटक मुद्दाको पेशी चढ्दा पनि बहस गर्न वकिल नपठाएको भन्दै शंका गर्ने प्रशस्त ठाउँ भएको बताए ।

धरान ११ स्थित क्याम्पसले भोगचलन गरिरहेको कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गाको स्रेस्तामा मोही डम्बरबहादुर घिमिरे छन् । उनको मृत्यु भइसकेको छ । करिब ३ बर्षअघि मृतक घिमिरेका छोरा यज्ञबहादुर क्षेत्रीले भुमिसुधार कार्यालय इनरुवामा मोही हक नामसारीको निवेदन दिएका थिए । उनको निवेदन पछि क्याम्पसले मोही लगत कट्टाको निवेदन दिएको थियो । भुमिसुधारले गत असोज २५ गते मोही हक छोरा यज्ञबहादुरको नाममा नामसारी गरिदिने फैसला गरेको थियो । उनलाई मोही हकको जग्गा दिलाउन भुमाफियाहरु सक्रिय भएका छन् । कानुनतः जग्गाको ५० प्रतिशत मोहीले पाउछन् । 

भिडियो: