धरान: महेन्द्र बहुमुखी क्याम्पस धरानका प्रमुख दामोदर भण्डारीले अबको पाँच दिनभित्र भुमिसुधार कार्यालय सुनसरीको निर्णयविरुद्ध पुनरावेदन गर्ने बताएका छन् ।

क्याम्पसले शुक्रबार मोही जग्गा प्रकरणबारे आयोजना गरेको सार्वजनिक वहस कार्यक्रममा सहभागीहरुको प्रश्नको जवाफ दिदै क्याम्पस प्रमुख भण्डारीले हदम्याद भित्रै उच्च अदालत विराटनगरमा पुनरावेदन गर्ने बताएका हुन् । उनले बुधबारसम्म पुनरावेदन गर्ने जानकारी दिदै उक्त दिन उच्च अदालतमा धरानेहरुले भरिभराउ पार्न पनि अपिल गरेका छन् ।

mmc 2

भुमिसुधारको निर्णयविरुद्ध पुनरावेदन गर्न वरिष्ठ अधिवक्ता हरिहर दाहालले तयार गरेको निवेदनको मस्यौदा हात परिसकेको जानकारी दिदै प्रमुख भण्डारीले राय, सुझाव लिने कार्य भइरहेको पनि बताए । ‘कानुन व्यवसायीहरु, विश्वविद्यालयको कानुनी सल्लाहकारलाई पनि मस्यौदा पठाएका छौ, उहाँहरुले हेरेर राय, सुझाव दिनुहुन्छ,’भण्डारीले भने,‘ढिलोमा आउने बुधबार दर्ता हुन्छ, क्याम्पसले के अपेक्षा गरेको छ भने त्यो दिन सबैको उपस्थिति होस । एक दिन उच्च अदालतमा धरानेहरुले भरौँ ।’

क्याम्पसको मोही जग्गा प्रकरणमा सबैको चासो भएको र पुनरावेदन कहिले गर्छ भन्ने प्रश्न पनि भएकोले सार्वजनिक बहस कार्यक्रम गरिएको क्याम्पस प्रमुख भण्डारीले जानकारी दिए । पुनरावेदन गर्ने क्रममा मुद्दामा छुट्नै नहुने कुराहरुलाई समेट्नको लागि राय, सुझाव लिने क्रम जारी रहेको बताए । उनले मोही प्रकरणमा सार्वजनिक सुनुवाई कसैले आयोजना गरे छलफल गर्न तयार रहेको बताए।