धरान: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिश अनुसार भोली पुष २७ गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । 

कोरोना संक्रमण बढ्दै गएपछि हिजो आइतबार सीसीएमसीसी बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिश गरेको थियो । मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै पुस २७ देखि माघ १५ गतेसम्म विद्यालयहरु बन्द हुने जानकारी दिएको छ । मन्त्रालयले विद्यार्थीलाई वैकल्पिक सिकाइसँग जोड्न पनि निर्देशन दिएको छ ।  ‘विदाको अवधिमा सिकाइ सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्था बमोजिम सिकाइमा आवश्यक सहजीकरण गर्ने प्रबन्ध मिलाउनू,’ प्रवक्ता दीपक शर्माले जारी गरेको विज्ञप्तीमा भनिएको छ । 

विदाको यो अवधिमा १२ बर्षदेखि १७ बर्ष उमेर समुहका विद्यार्थीहरुलाई सबै स्थानीय तहमा रहेको स्वास्थ्य चौकीमार्फत खोप लगाउने व्यवस्था गरिने भएकोले आफ्ना बालबालिकाहरुलाई पठाउन पनि मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले विश्वविद्यालय शैक्षिक प्रतिष्ठानहरुको पूर्वनिर्धारित सेमेष्टर, वार्षिक परीक्षाका कार्यक्रमहरु भने जनस्वास्थ्य र सुरक्षाको मापदण्डहरु पूर्णरुपमा पालना गर्न निर्देशन पनि दिएको छ । जेड आकारमा विद्यार्थीको बसाइ व्यवस्था गरी परीक्षा सञ्चालन गर्न मन्त्रालयको आग्रह छ ।