विराटनगर: प्रदेश नं. १ सरकारले कोभिड १९ संक्रमण रोकथाम, नियन्त्रण र उपचार बारे आवश्यक तयारी गर्न राजनीतिक दलहरूसँग प्रदेशस्तरीय सर्वदलीय सर्वपक्षीय छलफल गरेको छ । 

रोगविरुद्ध जनचेतना बढाउन र आवश्यक तयारी गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा शुक्रबार छलफल भएको हो । छलफलमा मुख्यमन्त्री राईले कोभिड १९ संक्रमणलाई रोकथाम, नियन्त्रण र उपचारमा राजनीतिक दलको सहयोगको खाँचो देखिएको बताए । उनले राजनीतिक दलहरूको दलीय संयन्त्र आधारभूत तहसम्म हुने भएकाले दलहरू र तिनका भ्रातृ संगठनको परिचालनले रोगविरुद्ध लड्न सकिने विश्वास व्यक्त गरे । ‘सरकारको प्रयासमा दलहरूले साथ दिए कोभिडविरुद्ध तय गरिएका योजना सफल हुन सक्छन्,’मुख्यमन्त्री राईले भने ।

प्रदेश नं. १ मा खोपको पर्याप्त व्यवस्था भए पनि पछिल्लो समय खोप लगाउन आउने संख्यामा कमी आएकोमा राजनीतिक दलहरूलाई यसप्रति जागरण पैदा गरिदिन उनले अपिल गरेका थिए । कोरोनाको तेस्रो लहर सकेसम्म निषेधाज्ञा वा लकडाउन गर्ने अवस्था नआउने गरी सामना गर्नुपर्नेमा मुख्यमन्त्री राईले जोड दिए । उनले पटक पटकको लकडाउनले जनताको दैनिकी, रोजीरोटीसहित मुलुकको अर्थतन्त्र चौपट हुनेतर्फ सरकार संवेदनशील रहेको पनि बताए ।

आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले कोभिड रोगविरुद्ध संघ, प्रदेश र स्थानीय तीनै तहको सरकार मिलेर लड्नुपर्ने धारणा व्यक्त गरे । उनले रोगविरुद्ध अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई बुस्टर डोजका रुपमा दिइने खोप दिन सरकार प्रतिवद्ध रहेको पनि बताए । रोगको संक्रमण फैलिएको अवस्थामा एकले अर्कामा जिम्मेवारी पन्छाएर भन्दा पनि मिलेर अघि बढ्न मन्त्री कार्कीले आग्रह गरे ।

सामाजिक विकास मन्त्री जयराम यादवले रोगको संक्रमण फैलिएको अवस्थामा राजनीतिक दलहरूलाई भीडभाड हुने खालको कार्यक्रम नगरी दिन अपिल गरे । उनले विगतमा आफूहरू सरकारमा नभएको अवस्थामा पनि कोभिडविरुद्धको अभियानमा आफ्नो राजनीतिक दलको तर्फबाट गरेको सहयोगको स्मरण गर्दै रोगको जोखिमको अवस्थामा कसैबाट पनि गैरराजनीतिक चरित्रको अपेक्षा नभएको स्पष्ट पारे । 

राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेस प्रदेश नं. १ अध्यक्ष उद्धव थापा, सोही पार्टीका संसदीय दलका सचेतक सुयर्माराज राई, नेकपा माओवादी केन्द्र प्रदेश नं. १ अध्यक्ष हर्कबहादुर नेम्वाङ, नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य तथा प्रदेश नं.१ सचिव महेश रेग्मी, जनता समाजवादी पार्टी प्रदेश नं. १ अध्यक्ष प्रवीण चाम्लिङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव अशोक चाम्लिङ, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश नं.१ सचिव वासुदेव भट्टराईलगायतले आ–आफ्नो दलका तर्फबाट धारणा राखे । 

कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालीप्रसाद पराजुली र सामाजिक विकास मन्त्रालयका तर्फबाट वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर प्रसाईंले रोगविरुद्ध भए गरेका प्रयासबारे प्रकाश पारे । छलफल कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, १ नं. प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार बिसी, सशस्त्र प्रहरी बल पकलीका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी, राष्ट्रिय अनुसन्धान १ नं. प्रदेश कार्यालयका प्रमुख अनुसन्धान निर्देशक प्रकाशराज पाण्डे, नेपाली सेना थलाहा गणका प्रमुख सेनानी अमृत थापा मगरले कार्यालयबाट भए गरेका कामका बारे जानकारी गराए ।