धरान: धरान १७ मा बेसिक मेकअप तथा स्किन केयर तालिम सम्पन्न भएको छ । 

समता समाज नेपाल (पि.एस.एन.) को आयोजनामा उक्त तालिम माघ १९ देखि २५ गतेसम्म सञ्चालन भएको थियो । धरान उपमहानगरपालिका वडा नं। १७ को सहयोगमा आयोजित तालिममा वडा १७ का ३० जना सहभागी भएको आयोजक संस्थाले जानकारी दिएको छ । तालिम धरान १७ स्थित नमस्ते सामुदायिक भवनमा सञ्चालन गरिएको थियो । तालिममा ब्युटि जोन ब्युटिपार्लरकी सञ्चालिका दीपा श्रेष्ठले प्रशिक्षण दिएकी थिइन् । 

 तालिम समापन समारोहका प्रमुख अतिथि एवं वडा नं १७ का वडा सदस्य युवराज विष्टले सीपमुलक कार्यक्रमको बजेट सहीरुपमा सदुपयोग भएको धारणा व्यक्त गरे । साथै उनले तालिम लिएका प्रशिक्षार्थीहरुलाई सिकेको सीप सदुपयोग गर्न पनि आग्रह गरे । वडा सदस्य सुवास वर्देवाले पनि महिलाहरुको सीप विकासको लागि अझै बजेट विनियोजना गर्न आवश्यक भएको बताए । कार्यक्रममा वडा सदस्य कुसुम परियार, संस्थाको पदाधिकारी ऋचा शंकर, रविन श्रेष्ठलगायतको पनि उपस्थिति रहेको थियो ।