खोटाङ: खोटाङको केपिलासगढी गाउँपालिका वडा नं ३ बासपानी स्वास्थ्य कार्यालयलाई रोजी हिरा फाउन्डेसन र प्रदेश १ आन्तरिक मामिला तथा कानून मन्त्रालयले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। 

जिल्लाको विकट स्थानमा रहेको स्वास्थ्य संस्थालाई बुधवार एक कार्यक्रमका बिच आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की र फाउन्डेसनकी अध्यक्ष रोजिना प्रधानले अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । कार्यालयलाई १० लाख भन्दा बढी मूल्य बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो । कोरोना भाइरसको महामारीको विषम परिस्थितिमा प्रदेश १ सरकारका तर्फबाट एक थान अक्सिजन कन्सन्टेटर र फाउन्डेसनकातर्फबाट जीवनजल, मास्क, एन्टिजेन किट, सेनीटाइजर, फेस सिल्ड, कन्डम, पिल्स एमोक्सीन ट्याब्लेट लगायत सामग्री वितरण गरिएको हो ।

विद्युतीय माध्यमबाट चल्ने अक्सिजन कन्ट्सन्टेटर मेशिनले बिरामी परेका बेला कसैको ज्यान जोगिन सक्ने मन्त्री कार्कीले बताए । मन्त्री कार्कीले विकासका काममा सबै एकजुट भएर लाग्नुपर्ने बताए । उनले सरकार हातेमालो गर्न तयार रहेको पनि बताए । सबै अधिकार प्रदेशमा झैँ आई नसकेकाले समस्या भइरहेको पनि मन्त्री कार्कीले बताए । 

एनआरएनएकी पूर्व उपाध्यक्ष एवं फाउन्डेसनकी अध्यक्ष प्रधानले आफ्नो कर्म जिल्लामा स्वास्थ्य जस्तो संवेदनशील विषयमा सामग्री हस्तान्तरण गर्न पाउँदा हर्षित भएको बताइन् । आफू युकेमा भए पनि आफ्नो ठाउँको हरेक क्रियाकलापमा आफूहरूको सहभागिता रहने प्रधानको भनाई छ । गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राईले फाउन्डेसनले गरेको सहयोगले विकासमा नयाँ आयाम थपेको बताए । 

कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले फाउन्डेसनले गरेको कामको प्रशंसा गर्दै सामाजिक संघ सस्था सँगै सरकार पनि यसैगरी गाँउगाँउमा पुगेर नागरिकका समस्या बुझेर समस्याका समाधान गर्नुपर्ने बताए । वडा नं ३ का वडा अध्यक्ष खगेन्द्र बहादुर गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा  गाउँपालिका उपाध्यक्ष हिरा कुमारी वन गिरी, वासपानी स्वास्थ्य शाखाका प्रमुख लक्ष्मी कार्कीलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो ।