धरान: नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तह निर्वाचन नजिकिदै जादा आफुखुशी उम्मेदवार घोषणा गर्दै नहिड्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।
आइतबार इटहरीमा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता पोखरेलले यस्तो निर्देशन दिएका हुन् । उनले पालिका र वडामा कसलाई उम्मेदवार बनाउने भनेर स्थानीय पार्टी नेतृत्वले नै सबैको भावना बुझेर सिफारिश गर्ने र त्यही सिफारिशको आधारमा निर्णय हुने बताए । ‘सिफारिश बाहेकको निर्णय हुदैन, माथि नेताहरुको घर घर जानुपर्ने जरुरी छैन,’पोखरेलले भने,‘नेता नेताको घरमा गएर मिलाई दिनु है भन्ने कोशिस नगर्नु होला ।’
नेता पोखरेलले स्थानीय तहमा निर्वाचिन भएपछि जनप्रतिनिधिहरुले के काम गरे भनेर जनताले न्यायाधिश भएर मुल्यांकन गरिरहेको पनि बताए । जनताले जनप्रतिनिधिहरुको लेखापरीक्षण गरिरहेको भन्दै नेता पोखरेलले बेरुजु नहुने गरि खरो उत्रनुपर्ने पनि बताए । उनले भने,‘जनता न्यायाधिशजस्तो भएर हेरिराख्या छन् । अडिट गरि राख्या छन् । जनताले हाम्रो लेखा परीक्षण गरिराख्या छ । लेखा परीक्षणमा खरो उत्रनु पर्यो, बेरुजु हुनु भएन ।’







