विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार ३६६ जनाको पीसीआर परीक्षण गर्दा २५ जना र ३५८ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ९, सुनसरीमा ४, पाँचथर र झापामा २–२, धनकुटा र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ३, बुढीगंगा, सुनबर्षी, लेटाङ, केराबारी, कानेपोखरी, र बेलबारीमा १–१, सुनसरीको कोशी गाउँपालिकामा २, इटहरी र देवानगञ्जमा १–१, पाँचथरको फालेलुङ र फिदिममा १–१, झापाको दमक र मेचीनगरमा १–१, धनकुटाको पाख्रिबास र उदयपुरको त्रियुगामा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा थप १०१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ५० महिला र ५१ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या १ हजार ३९ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।