धरान: गएको बुधबार र बिहिबार अलग अलग जेब्रा झोलामा भेटिएको शव कस्को हो भनेर अझै सनाखत हुन सकेको छैन । 

शवको सनाखत नहुदा हत्या अनुमान गरिएको घटनाको अनुसन्धान पनि प्रभावित हुन पुगेको छ । सनाखत हुन नसके पछि आइतबार धरान प्रहरीले पुनः मृतकको अनुहारको स्केच तयार गरेर सार्वजनिक गरेको छ । यसअघि बिहिबार पनि प्रहरीले झोलामा भेटिएको मृतकको अनुहारको तस्बिर सार्वजनिक गर्दै पहिचानको लागि सहयोगको आग्रह गरेको थियो । 

ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरका अनुसार मृतक को हुन् भनेर सनाखत हुन नसकेपछि स्केच बनाएर सार्वजनिक गरिएको हो । यो स्केच अपराध महाशाखाबाट तयार गरिएको पनि उनले जानकारी दिए । डिएसपी कुँवरले भने,‘मृतक को हुन् भनेर सनाखत हुन सकेन । कोही आफन्तजन पनि सम्पर्कमा आएको छैन । त्यसैले ब्युरोबाट स्केच बनाएर सार्वजनिक गरेका छौं । खोजी पनि सबैतिर भइरहेकै छ ।’

गएको बुधबार धरान ४ मा पर्ने कोशी राजमार्गको धरान भेडेटार सडकखण्डको जेठामाने गोलाई नजिक जंगलमा जेब्रा झोलाभित्र प्याक गरेको अवस्थामा मानिसको टाउको र एउटा खुट्टा भेटिएको थियो । दाउरा खोज्न गएका स्थानीयले दुर्गन्ध फैलिएपछि जेब्रामा हेर्दा शव भेटेर प्रहरीमा खबर गरेका थिए । 

संघीय प्रहरी ईकाई कार्यालय र ईलाका प्रहरी कार्यालयको संयुक्त टोलीले पुनः सर्च गर्दा भोलीपल्ट (बिहिबार) अर्को जेब्रा झोलामा मृतकको शरीरसहित अंगहरु पनि भेटिएको थियो । बुधबार भेटिएको टाउको, एउटा खुट्टा र बिहिबार भेटिएको शरीर एकै व्यक्तिको भएको प्रहरीले जनाएको छ । घटना प्रकृति हेर्दा हत्या गरेर डिस्पोज गर्न अलग अलग झोलामा राखेर फालेको प्रहरीको भनाई छ । 

dead-body2