धरान: शुल्क वृद्धिको बिषयमा आन्दोलनरत विद्यार्थी संगठन र धरानको विष्णु मेमोरियल बोर्डिङ स्कुलबीच दुई बुँदे सहमति भएको छ । 

पाँच दिनअघि (बिहिबार) नै सहमति भएपनि दुवै पक्षले औपचारिकरुपमा सार्वजनिक गरेको छैन । सहमति भएपछि विद्यार्थी संगठनहरुले स्कुलको लेखा शाखामा गरेको तालाबन्दीलगायत आन्दोलनका सम्पुर्ण कार्यक्रमहरु फिर्ता गरेका छन् । 

बिहिबार विद्यालय प्रशासन र विद्यार्थी संगठनका प्रतिनिधिहरुबीच वार्ता भएको थियो । वार्तामा स्कुल पक्षले धरान उपमहानगरपालिकाको शिक्षा ऐन, नियमावली अनुसार सबै प्रकारका शुल्कहरु लिने सहमति गरेको छ । यस्तै, कोरोनाले प्रत्यक्ष असर गरेका अभिभावक तथा विद्यार्थीहरुको कुनै प्रकारको शुल्कको कारण देखाएर अध्ययन तथा अध्यापनबाट बञ्चिन नगराउने पनि सहमति भएको छ । 

सम्झौत पत्रमा विद्यालयका अध्यक्ष बेन्द्रि कटवालले हस्ताक्षर गरेका छन् भने विद्यार्थी संगठनहरुको तर्फबाट नेवि संघका दोर्ची शेर्पा, समाजवादी विद्यार्थी युनियनका सुमन राई, अखिल क्रान्तिकारीका रविन श्रेष्ठ, अनेरास्ववियुका प्रभात तामाङ र अनेरास्ववियूका खेमप्रसाद दाहालले हस्ताक्षर गरेका छन् । धरान उपमहानगरपालिकाले गरेको निर्णयविरुद्ध शुल्क वृद्धि गरेको भन्दै एक सय जनाको हाराहारीमा अभिभावकहरुले नगरपालिकामा निवेदन दिएपछि विवाद बढेको थियो । शुल्क वृद्धिबारे सहमति जुट्न नसक्दा पुष २५ गते विद्यार्थी संगठनहरुले स्कुलको आर्थिक प्रशासनमा तालाबन्दी गरेको थियो । 

विद्यालयले भने पत्रकार सम्मेलन गर्दै विगत ४ बर्षदेखि मासिक शुल्कमा वृद्धि नगरिएको र ४ बर्षदेखि शिक्षक, कर्मचारीको पनि तलब वृद्धि नगरिएको जनाएको थियो । तर, यही बीचमा नेपाल सरकारले दुई पटक कर्मचारीहरुको तलब वृद्धि गरिसकेको र महंगी पनि बढेको कारण पनि विद्यालयले शिक्षकहरुको तलब बढाउनु पर्दा केही शुल्क बढाउनुपरेको जनाएको थियो । यद्यपी, विद्यालयले भर्ना शुल्कमा ५० प्रतिशत र मासिक शुल्कमा ४० बाट ३० प्रतिशत झारिएको जनाएको थियो । साथै, विद्यालयले शिक्षकहरुलाई सरकारी तलब स्केल दिएर विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरिएकोले अन्य स्कुलसँग एउटै बास्केटमा राखेर हेर्नु ठिक नभएको जनाएको थियो।

bishnu-sahamati1