धरान:स्थानीय सरकारले गरेको निर्णय विपरीत शुल्क वृद्धि गरेका धरानका सबै विद्यालयहरुविरुद्ध विद्यार्थी संगठनहरुले आन्दोलन गर्ने भएको छ ।

संयुक्त विद्यार्थी संगठन धरानले आइतबार महेन्द्र बहुमुखी क्याम्पस धरानमा पत्रकार सम्मेलन गर्दै निर्णंय विपरीत शुल्क लिने विद्यालयहरुको छानबिन र अवलोकन गरेर ती विद्यालय विरुद्ध आन्दोलन गर्ने घोषणा गरेको हो । अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य बुद्रोस लिम्बुले धरान उपमहानगरपालिकाले शिक्षा नीति नल्याउदा पनि समस्या भएको भन्दै स्थानीय सरकारले गरेको निर्णय विपरीत शुल्क लिने विद्यलयविरुद्ध आन्दोलित हुने बताए । 

लिम्बुका अनुसार धरानको विष्णु स्कुलले शुल्क वृद्धि गरेको बारेमा अभिभावकहरुले उपमहानगरपालिकामा गुनासो गरेको र विद्यार्थी संगठनहरुले पनि शिक्षा महाशाखाको ध्यानाकर्षण गराए पनि अहिलेसम्म चासो नदेखाएको पनि बताए । परीक्षा चलिरहेको कारण पुष २३ गतेसम्म विद्यालयले समय मागेको र आज दिउँसो ३ बजे विद्यालयले शुल्कको बिषयमा वैठक राखेको जानकारी दिएको पनि उनले बताए । ‘धरानको केके इन्टरनेशनल स्कुलले सेक्युरिटी डिपोजिट भनेर १० हजार र होस्टेल फि भनेर १७ हजार ४ सय रुपैया एक महिनाको लिएको प्रमाण पाएका छौ, त्यहाँ पनि आजै जादैछौ,’उनले भने ।

धरानका केही ठुला स्कुलहरुले महंगो शुल्क लिएको गुनासो आइरहेको कारण ती स्कुलहरुमा जाने, प्याब्सन र एन प्याब्सनलाई शुल्क समायोजन गर्न लगाउन आग्रह गर्ने, नियामक निकाय स्थानीय सरकारलाई निरन्तर ध्यानाकर्षण गराउने र सम्बन्धित विद्यालयमा पनि पुगेर दबाब दिनेलगायतको कार्यक्रमहरु गर्ने संयुक्त विद्यार्थी संगठनले जनाएको छ । ‘हाम्रो यो अभियान विद्यार्थीहरुको हितको लागि हो, शिक्षा क्षेत्र सेवामुखी पनि हो, नाफामुखी मात्र होइन,’लिम्बुले भने,‘नागरिक समाज, अभिभावक, विद्यार्थी संगठनहरु र पत्रकार महानुभावसँग पनि सकरात्मक सहयोगको अपेक्षा गछौ ।’

अखिल क्रान्तिकारीका रविन श्रेष्ठले सबै निजी विद्यालयमा मात्र केन्द्रीय रहेको तर सामुदायिक विद्यालयहरुमा पनि धेरै विकृति बढेकोले विद्यार्थी आन्दोलन त्यता पनि केन्द्रीय हुने बताए । उनले धरानमा मेयर र उपमेयरको असझदारीले शिक्षा नीति आउन नसक्दा निजी विद्यालयहरुको मनोपोली भएको बताए । अनेरास्ववियूका नेता आशिष प्रधानले विद्यार्थी संगठनहरुले गलत भएको बिषयलाई आवाज उठाएर सम्बन्धित निकायलाई कानुनी कारबाहीको दायरामा ल्याउन निरन्तर लागिपर्ने बताए ।