धरान: धरान उपमहानगरपालिका क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा १० सम्मका विद्यार्थीहरुलाई भिटामिन डि निःशुल्क लगाइने भएको छ । 

रोटरी क्लब अफ धरान घोपाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाडजोर्नी विभागसँग सहकार्य गरेर सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई इन्जेक्सनमार्फत भिटामिन डि लगाउने भएको हो । रोटरीले शनिबार मितेरी डेभलपमेन्ट बैंकमा पत्रकार सम्मेलन आयोजना गर्दै ४९ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरेर यो कार्यक्रम गर्न लागेको जानकारी दिएको छ । 

भिटामिन डि कार्यक्रमका संयोजक तथा वीपी प्रतिष्ठानका हाडजोर्नी विभाग प्रमुख प्रा.डा.विक्रमप्रसाद श्रेष्ठका अनुसार ४९ वटा धरानका सामुदायिक विद्यालयमा १२ हजार हाराहारीमा विद्यार्थीहरु अध्ययनरत रहेका छन् । ती मध्ये कम्तीमा ९, १० हजार विद्यार्थीलाई भिटामिन डि दिइने उनले बताए । ‘ ८० प्रतिशत मानिसलाई जाँच्यौ भने भिटामिन डि कमी भएको पाउछौ, केही बर्षदेखि मानिसहरुमा भिटामिन डि प्रति सचेतना धेरै जागेको देखिन्छ,’ डा. श्रेष्ठले भने,‘स्वास्थ्य रहन, कोरोनाको लागि पनि, मुटुको लागि, हाडजोर्नीको समस्याको लागि भिटामिन डि चाहिन्छ, र कमी हुनुहुदैन भन्ने सोच छ ।’

rotary2

नेपाल र भारतमा गरिएको विभिन्न अध्ययनहरुले जनसंख्याको ४० देखि ९० प्रतिशतलाई भिटामिन डि कमी भएको पाइएको छ । डा.श्रेष्ठका अनुसार सामुदायिक स्वास्थ्यको हिसाबले भिटामिन डि नाप्दा ३० देखि १०० युनिटलाई राम्रो मानिन्छ । तर, नेपालमा अधिकांश ३० भन्दा कम भएको उनले बताए । नेपालमा हुने खाने परिवारमा पनि कमी देखिएको कारण निम्न आर्थिक अवस्था भएको मानिसमा झनै भिटामिन डि कमी हुने सम्भावना रहेको उनले बताए । ‘त्यसकारण सामुदायिक विद्यालय नै हाम्रो कार्यक्रमको लागि सही क्षेत्र हुन्छ भन्ने लागेर यो कार्यक्रम गर्न लागेका हौ,’उनले भने । 

एक जना विद्यार्थीलाई सिरिञ्ज र भिटामिन डि गरेर ७० रुपैया खर्च हुन्छ । धरानका ८,९ हजार विद्यार्थीको लागि साढे ६ लाख जति बजेट आवश्यक पर्नेछ । सबै खर्च रोटरीकै सदस्यहरुबाट उठाउनु पर्ने र हालसम्म डेढ लाख रुपैया संकलन भइसकेको पनि डा.श्रेष्ठले बताए । ‘धरान भरिका विद्यार्थीलाई एक डोज लगाउने लक्ष्य छ । भिटामिन डि लगाउदा नोक्सानी हुदैन, फाइदा मात्रै हुन्छ,’उनले भने,‘भिटामिन डि कमी हुदा क्याल्सियम कमी हुन्छ, र हाड कमजोर भएको हुन्छ । त्योसँगसँगै हृदयघातको रोग, मुटुको रोग हुने, कुनै किसिमको क्यान्सर पनि देखिने हुन्छ । रोग प्रतिरोधात्मक क्षमता पनि कमी हुने हुन्छ । जसलाई कमी हुन्छ, उसले विरामी जस्तो फिल गर्ने गर्छन् ।’

rotary3

रोटरी क्लब अफ धरान घोपाका अध्यक्ष तुलसीप्रसाद वस्तीले संस्थाले सामाजिक कार्यहरु गर्दै आएको र त्यसैको निरन्तरताको लागि भिटामिन डि कार्यक्रम गरिएको बताए । उनले यो कार्यक्रमको लागि धेरै बजेट आवश्यक पर्ने भएकोले इच्छुक दाताहरुलाई सहयोगको पनि अपिल गरेका छन् । उनी सिईओ रहेका मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले पनि कार्यक्रमको लागि आर्थिक सहयोग गर्ने वस्तीले जानकारी दिए । 

यस्तै, सामुदायिक विद्यालयका कक्षा १० सम्मका विद्यार्थीहरुलाई निःशुल्क दिइनेछ भने त्योभन्दा माथिल्लो कक्षाका विद्यार्थी, शिक्षक, कर्मचारीलगायतले भने १०० रुपैयामा तिरेर सेवा पाउने पनि उनले बताए । यसरी प्राप्त भएको रकम पनि निःशुल्क भिटामिन डि कार्यक्रमकै लागि प्रयोग गरिने अध्यक्ष वस्तीले बताए । उनले भने,‘हामीले स्वास्थ्य र शिक्षामा केन्द्रीत छौ । यसपाली गल्र्स इम्पारमेन्टलाई फोकस गरेका छौ, र शारदा बालिकामा इन्ट्याक्ट क्लब बनाएका छौ ।’

वस्तीका अनुसार संस्थामा चिकित्सक, उद्योगी, वकिल, बैंकर, इञ्जिनियर, व्यवसायी सबै क्षेत्रका मानिसहरु आवद्ध रहेकोले सामुदायमा आवश्यक पर्दा निःशुल्क परामर्श सेवा पनि दिनेछ । यो र्काक्रम गत बर्ष नै गर्ने योजना बनाए पनि कोरानाको कारणले हुन नसकेको बताए । अभिभावकको सहमति आवश्यक पर्ने भएपनि विद्यालयले स्वीकृति दिएमा मात्रै पनि भिटामिन डिको इन्जेक्सन दिइने बताए । 

भिडियो:

rotary5

rotary4