धरान: बुधबार धरान १८ बुद्धचोकस्थित न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसमा मृत भेटिएकी महिलासँगै कोठामा बस्न आएका युवा को पहिचान भएको छ । 

ती युवाको पहिचान गरेपनि प्रहरीले आधिकारिक जानकारी भने दिएको छैन । फरार रहेको कारण पनि प्रहरीले ती युवाको बारेमा जानकारी नदिएको हो । उनलाई पक्राउ गर्न प्रहरी परिचालित भएको छ । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले फरार रहेका युवाको पहिचान भइसकेको पुष्टि गरे । ती युवाको आफन्त बुझ्ने काम भइरहेको र पक्राउ गर्न प्रहरी परिचालन भइसकेको पनि उनले बताए । 

एक पुरुषसँग आएर दुई दिनदेखि होटलमा बसिरहेकी इटहरी ५ डेरा गरि बस्ने ३९ बर्षीया सुमित्रा तामाङ हिजो मंगलबार बिहान मृत फेला परेकी थिइन् । उनको अनुहार र जिउमा पनि चोटपटक देखिएकोले उनीसँगै बसेका युवाले कुटपिट गरेर हत्या गरेको अनुमान गरिएको छ । होटलमा जीवन मगर नाम र धनकुटा ठेगाना लेखेको भएपनि ती युवाले गलत नाम र गलत ठेगाना लेखेको बताइएको छ । ‘यहीको नभनौ, प्रदेश नं १ कै मान्छे हो, हामी चाडै पक्राउ गछौ,’डिएसपी कुँवरले भने । 

मृतक तामाङको खास घर पाँचथरको मिक्लाजुङ गाउँपालिका १ हो । उनका श्रीमान् भारतीय सेनाबाट अवकाश पाएपछि हाल ब्रुनईमा छन् । फरार रहेका व्यक्तिसँग मृतक तामाङको पहिलादेखिकै निकट सम्बन्ध रहेको बताइएको छ ।