धरानः १० औं धरान रन नेवा च्यारिटी १० किमी २०७८ लाई शनिबार व्यवस्थितरुपमा सम्पन्न गर्न स्थानीय सरकार, सुरक्षा निकाय र आयोजक संस्थाले पनि आ आफ्नो ठाउँबाट लागि पर्ने प्रतिवद्धता जनाएको छ । 

मेयर तिलक राईको अध्यक्षतामा शुक्रबार सुरक्षा निकायसहितको छलफलमा यस्तो प्रतिवद्धता आएको हो । छलफलमा ईलाका प्रहरी कार्यालय धरान, जिल्ला ट्राफिक प्रहरी कार्यालय धरान, सशस्त्र प्रहरी बल, नगर प्रहरी र धरान रन समूहका प्रतिनिधिहरु सहभागी थिए । छलफलमा आयोजक धरान रन समूहले हालसम्मको तयारी र दौडको रुटको बारेमा जानकारी गराएको थियो । मेयर राईले १० औं धरान रन सफल बनाउन नगरपालिका र सुरक्षा निकायहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि प्रतिवद्धता व्यक्त गरे ।

नेपालको सर्वाधिक धावकधाविकाहरु सहभागी हुने धरान रन नेवा च्यारिटी १० किमीको १० औं सँस्करण शनिबार आयोजना हुँदैछ । यसपाली ह्वील चियर रेस पनि हुदैछ । शनिबार बिहान ६ बजेर ४५ मिनेटमा ह्वील चियर रेस सुरु गरिने धरान रन समूहका अध्यक्ष रमु राईले बताए । ह्वील चियर रेस भानुचौकबाट पुतली लाईनको पुलसम्म मात्र हुनेछ । 

त्यसपछि साढे ७ बजे १६ वर्ष उमेर समूहदेखि माथिका मेन ईभेन्ट (१० किमि रन) हुनेछन् । मेन ईभेन्ट सुरु भएको १० मिनेटपछि १२ वर्ष मूनिका बालबालिकाहरु दौड हुनेछ । उनिहरुले भानुचौकदेखि दुर्गा चौकसम्म दौडिएर पुनः फर्किने धरान रन समूहका अध्यक्ष राईले बताए । छलफलमा आयोजकले ४ वटा एम्बुलेन्स, दुई वटा स्वीपर बस र २५० भन्दा बढि भोलेन्टियर खट्ने पनि जानकारी गराए । 

यस्तो छ रुट:

बिहान भानुचौकबाट सुरु भई पुतली लाईन, दुर्गा चौक, बुद्ध चौक, रत्न चौक, मंगलबारे, कल्याण चौक, पानी टंकी, गणेशमान चौक, रंगशाला हुँदै जिरो प्वाईन्ट, अमरहाट, रेडक्रस भवन, हात्तिसार, विजयपुर चौक, पिण्डेश्वर मन्दिर, चिनियाँ चौक, पुरानो बजार देशीलाईन हुँदै पुनः भानुचौकमा आएर समापन हुनेछ ।