विराटनगर: झिलकुमारी लुइँटेल स्मृति पत्रकारिता पुरस्कार २०७८ बाट विराटनगरका पत्रकार अभकुमार राई पुरस्कृत हुने भएका छन् । 

नारदमुनि-पवित्रादेवी लुइँटेल स्मृति कोषले स्थापना गरेको पुरस्कार पत्रकार राईलाई दिने निर्णय गरेको हो । मंगलबार बसेको कोषको बैठकले नेपाल पत्रकार महासंघ मोरङका कोषाध्यक्ष तथा मकालु टेलिभिन र देशसंचार अनलाइनका पत्रकार राईलाई पुरस्कृत गर्ने निर्णय गरेको जनाएको छ । कोषका संरक्षक छत्रपति लुइँटेलले पत्रकारिता क्षेत्रमा गरेको योगदानको कदर गर्दै पत्रकार राईलाई पुरस्कृत गर्ने निर्णय गरिएको जानकारी दिएका छन् । 

हरेक वर्ष फागु पूर्णिमाको अघिल्लो दिन पारेर प्रदेश १ मा कार्यरत श्रमजीवी पत्रकारलाई पुरस्कृत गर्न शुरु गरेको हो । कोषले मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर २ झोराहाटमा बुधबार कार्यक्रम आयोजना गरी पुरस्कार हस्तान्तरण गर्ने संरक्षक लुइँटेलले बताए । यसैगरी कोषले सरस्वती नमूना उच्च मावि झोराहाटमा अध्ययनरत उत्कृष्ट तीन विद्यार्थीलाई छात्रवृत्तिसमेत प्रदान गर्ने निर्णय गरेको छ ।