धरान: एक छात्रामाथि यौन दुव्र्यवहारको घटना चर्किएर एक महिला प्रहरीको हत्या पछि मोरङको लेटाङ नगरपालिकामा लगाइएको कर्फ्यु आजबाट हटेको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले आज बिहिबार बिहान ६ बजेदेखि कर्फ्यु आदेश हटाएको हो । कर्फ्यु आदेश हटेपछि जनजीवन सामान्य बन्दै गएको छ । थप अप्रिय घटना दोहोरिन नदिन र जनधनको क्षति हुनबाट जोगाउन लगाइएको कर्फ्यु पुर्णरुपमा हटाइएको प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिएका छन् । प्रशासनले हिजो पनि कर्फ्युलाई केही खुकुलो बनाएको थियो । चैत ६ गतेदेखि लेटाङमा कर्फ्यु लगाइएको थियो ।

लेटाङ ५ स्थित शिक्षा विकास माविका शिक्षक मनोज पौडेलले होली पर्वको दिन एक छात्रालाई घरमा नै गएर यौन दुव्र्यवहार गरेको बिषयमा आइतबार विद्यार्थी र अभिभावकहरुले आन्दोलन गरेका थिए । प्रहरीले आरोपित शिक्षकलाई पक्राउ गरेर लैजान खोज्दा विगतमा झै मिलापत्र गराउने आशंकाले अभिभावक र विद्यार्थीहरुले अवरोध गरेका थिए । आन्दोलन चर्कदै जादा भिड अनियन्त्रित भएर आगजनी, तोडफोड र ढुंगामुढा हुदा दोहोरो झडप भएको थियो, र सो क्रममा महिला प्रहरी उर्मिला श्रेष्ठको ज्यानसमेत गएको थियो । 

६ सदस्यीय छानबिन समिति गठन

लेटाङमा महिला प्रहरीको ज्यान जाने गरि भएको घटनाबारे छानबिन गर्न प्रहरीले ६ सदस्यीय एक छानबिन समिति गठन गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका एसएसपी राजेन्द्रकुमार चौधरीको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरिएको प्रदेश प्रहरी प्रवक्ता एवं एसपी नविनराज राईले जानकारी दिए । समितिमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी), १ नम्बर प्रदेश प्रहरी र जिल्ला प्रहरी मोरङको संयुक्त टोली रहेको छ।

चैत ६ गते राति लेटाङमा भएको आन्दोलन र दोहोरो झडपको क्रममा प्रहरी जवान श्रेष्ठको ज्यान गएको थियो । स्थानीय गाउँलेको आक्रमणमा परेकी श्रेष्ठको घाँटीमा छुरा प्रहार भएको थियो । गम्भीरु घाइते श्रेष्ठलाई उपचारको लागि लैजादै गर्दा बाटोमा नै ज्यान गएको थियो । उक्त घटनामा दुई दर्जन बढी प्रहरी र ७ जना आन्दोलनकारी घाइते भएका थिए।

letang-carfue-news