धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वास्थ्य विमा उपचार सेवा कायम राख्न माग गर्दै ज्ञापन पत्र बुझाइएको छ ।
धरानका नागरिक अगुवाहरुले प्रतिष्ठानको प्रशासनिक भवनमा बिहिबार नाराबाजी गर्नुका साथै डेपुटी अस्पताल निर्देशक डा.विकास साहलाई ज्ञापन पत्र पनि बुझाएका थिए । हर्क साम्पाङको नेतृत्वमा पुगेको टोलीले विमितहरुको उपचार सेवा चैत १५ गतेदेखि नगर्ने निर्णयमा आपत्ति पनि जनाएका छन् । सरकारले विमा योजना लागु गरेर जनताबाट पैसा पनि उठाएको भन्दै साम्पाङले विमाको उपचार सेवा सुविधा प्रतिष्ठानले कायमै राख्नुपर्ने बताए ।
विमा बोर्डसँग प्रतिष्ठानले के कति पैसा लिनुपर्नेछ भन्ने बिषयसँग आम जनताको सरोकार नभएको भन्दै साम्पाङले जनताले उपचार सेवाबाट बञ्चित हुन नहुने बताए । उनले भने, ‘विमा सेवा कायमै राख्नुपर्छ भन्ने हाम्रो माग हो । सरकारले पैसा लिएको छ, वीपीमा विमा कार्यक्रम लागु भएको छ । अहिले विमा बोर्डले पैसा दिएन भनेर हुदैन । कि त विमा योजना नै रद्द हुनुपर्छ, होइन भने उपचार गर्दिन भन्न पाइदैन ।’

साम्पाङले वीपी प्रतिष्ठानको उपचार सेवा पैसावालाको पहुँचमा मात्र भइरहेको भन्दै चिन्ता पनि प्रकट गरे । पेइंगमा उपचार गर्दा चाडै सेवा पाउने तर विमा वा ओपिडीबाट उपचारमा आउदा महिनौं लाग्ने गरेको भन्दै उनले आक्रोश पनि पोखे । साम्पाङले भने,‘पैसावालाको मात्र जीवन हो ? यो अस्पताल पेइंगमा मात्र उपचार दिने र प्राइभेट अस्पताल जस्तो बनाइसक्यो । विमाबाट उपचार गर्न आउदा ३ महिना पछि समय पाउने तर पेइंगबाट आजै उपचार हुने भइसक्यो ।’
स्वास्थ्य विमा अन्तर्गत विमितहरुलाई उपचार सेवा दिएवापत विमा बोर्डले प्रतिष्ठानलाई दिनुपर्ने २६ करोड बढी रकम नदिएपछि चैत १५ गतेदेखि विमाको उपचार सेवा स्थगन गर्ने निर्णय प्रतिष्ठानले गरेको छ । यसले विमा गरेका सर्वसाधारण नागरिकहरुको उपचार सेवा प्रभावित हुने भएको छ । प्रतिष्ठानले आर्थिक संकट गहिरिदै गएकोले यो निर्णय गर्न बाध्य भएको जनाएको छ ।
                    
		
                                        
                                                                                                
                    
		


		
		
		
		



