धरान: नेवाः देय दबुको सातौं राष्ट्रिय महाधिवेशन धरानमा हुने भएको छ । 

दबुले शनिबार धरान ७ स्थित सिद्धि नेवाः परिषदमा पत्रकार सम्मेलन गर्दै चैत १४ र १५ गते राष्ट्रिय महाधिवेशन धरानमा गर्ने तयारी भइरहेको जानकारी दिएको हो । महाधिवेशनको अवसरमा शनिबारदेखि नै विविध कार्यक्रम तथा गतिविधिहरु पनि शुरुवात भइसकेको व्यवस्थापन समितिका संयोजक अनिल मास्केले जानकारी दिए । 

महाधिवेशनको उद्घाटन चैत १४ गते सोमबार मध्याह्न भानुचोकमा उद्घाटन हुनेछ भने ४ बजेदेखि सिद्धि नेवाः परिषदमा बन्द सत्र शुरु हुनेछ । चैत १५ गते सहमति तथा निर्वाचन प्रक्रियामार्फत नयाँ नेतृत्व चयन गरेर महाधिवशेन समापन हुने दबुले जानकारी दिएको छ । महाधिवेशनमा देशभरिबाट ५ सय प्रतिनिधि र एक सय पर्यवेक्षक सहभागी हुने पनि आयोजकको भनाई छ । 

newa2

महाधिवेशनको अवसरमा शनिबार प्रचारात्मक साइक्लिङ कार्यक्रम आयोजना गरिएको थियो । सिद्धि नेवाः परिषदबाट शुरुवात गरिएको साइक्लिङ धरान नगरको परिक्रमा गरेको थियो । भोली (आइतबार) सुकुन्दा र्याली आयोजना हुनेछ भने चैत १४ गते सोमबार बिहान भानुचोकमा रक्तदान कार्यक्रम पनि आयोजना गरिनेछ । यस्तै, सोही दिन बिहान १० बजे झाँकीसहित र्याली पनि गरिनेछ ।

खलः पुचहरुको असन्तुष्टी, सहमतिमा ल्याउन छलफल गरिने

महाधिवेशन तयारीको क्रममा आफुहरुलाई बाइपास गरेको भन्दै विभिन्न खलः पुचहरुले बहिष्कार गर्ने घोषणा गरेका छन् । विभिन्न खलःपुचहरुले संयुक्त विज्ञप्ती जारी गर्दै समन्वय र जानकारी पनि नदिई अपारदर्शीरुपमा काम भइरहेको भन्दै महाधिवेशनमा सहभागिता नजनाउने बताएका छन् । 

newar

पत्रकार सम्मेलनमा दबुका केन्द्रीय अध्यक्ष नरेशकुमार ताम्राकारले कमीकमजोरी भएर सुधार गर्ने बताए । साथै, उनले असन्तुष्ट खलःपुचहरुसँग छलफल गरेर समस्या समाधान गर्ने र एकताको राष्ट्रिय महाधिवेशन बनाउने पनि बताए ।