झापा: झापाको मेचीनगर नगरपालिका ६ बाट लागुऔषध ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा झापा बुद्धशान्ती गाउँपालिका ४ का ४३ बर्षीय किशोर सुनुवार र काठमाण्डौ महानगरपालिका ५ का ३१ बर्षीय सन्त महर्जन रहेका छन् । दुवैलाई हिजो (बुधबार) बेलुका साढे ४ बजे लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीले लागुऔषधसहित नियन्त्रणमा लिएको हो ।

उनीहरु प्रदेश ३-०१-००६ ख ०६२६ नम्वरको बसमा सवार रहेका थिए । चेकजाँचको क्रममा सुनुवार र महर्जनको साथबाट प्लाष्टिकमा पोको पारेर झोलामा लुकाई राखेको २८ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ । ब्राउनसुगर सहित पक्राउ परेका दुवैको बिषयमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाले थप अनुसन्धान गरिरहेको जनाएको छ ।