धरान: एकीकृत सहरी विकास आयोजनाअन्तर्गतको धरान खानेपानी परियोजनाको अवस्था अध्ययन गर्न एक समिति गठन गरिएको छ।

सहरी विकास मन्त्रालयले ५ सदस्यीय समिति गठन गरेको हो । मेयर तिलक राईका अनुसार उक्त समितिले धरानको खानेपानी आयोजनाको अवस्थाबारे अध्ययन गर्नेछ । उनले भने, ५ सदस्यीय समिति बनेको छ । यो समितिले आयोजना कुन अवस्थामा छ भनेर अध्ययन गर्छ, र थप के गर्ने भन्ने निक्यौल हुन्छ ।

मेयर राईका अनुसार समितिमा सहरी विकास आयोजनाका सहरी विकास आयोजनाका निर्देशक सुरेन्द्र मोहन श्रेष्ठ संयोजक छन् भने सदस्य सचिवमा खानेपानी मन्त्रालयका उपसचिव छन् । यस्तै, सदस्यहरुमा खानेपानी मन्त्रालयका एक प्रतिनिधि, धरान खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेल र धरान उपमहानगरपालिकाकोतर्फबाट योजना महाशाखा प्रमुख सुरज श्रेष्ठ पनि छन् । आयोजना सम्पन्न भएर हस्तान्तरण भई नसकेको भन्दै मेयर राईले भने, ‘आयोजना पुरा भएको छैन । पुरा गरेर दिनुपर्यो, संस्थानको संरचनाहरु पनि मर्मत गर्नुपर्यो भनेर हामीले भनेका छौ ।’

ठेकेदार कम्पनीको पनि समय सकिने भएपछि आयोजनाको काम सम्पन्न गर्नको लागि खानेपानी संस्थान जिम्मा लिएर ठेकेदारलाई काम गर्न दिइएको मेयर राईको भनाई छ । ‘आयोजना सम्पन्न भएपछि मात्र जिम्मा लिन्छौ, पुरा भएकै छैन । संस्थानको संरचना पनि उस्तै छ, जवाफदेहिता कस्ले लिने ? त्यसैले सहकारी विकास मन्त्रालय र खानेपानी मन्त्रालयलमा केही महिना अघि सर्वदलीय टोली गएका थियौ, फेरि हप्ता १० दिनअघि पनि म र कांग्रेस नेतृत्वको टोली गएर दबाब दिएका थियौ,’मेयर राईले भने, ‘त्यही भएर समिति बनेको हो, यो समिति धरान आएर आयोजनाको अवस्था हेर्छ, र समस्यासँगै समाधान पनि पहिचान गर्छ ।’

एसियाली विकास बैक (एडिबि) को ऋण तथा अनुदान सहयोग रहेको आयोजनाको म्याद सकिए पनि निर्माण कार्य भने सम्पन्न भएको छैन । धरानको प्रमुख समस्या खानेपानी अभावलाई दीर्घकालिनरुपमा समाधान गर्ने भनेर ल्याइएको आयोजना तोकिएको समयमा निर्माण सम्पन्न हुन नसक्नु र धराने जनताले खानेपानी नपाउनुले आयोजना नै असफल भएको हो कि भन्ने पनि आशंका पैदा भएको छ ।