धरान:  बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आगामी २०७९ बैशाख १५ गतेदेखि वचतकर्ताहरुलाई नगद भुक्तानी सेवा शुरुवात गर्ने भएको छ । 

बराह सहकारीले बिहिबार बराह किचनमा पत्रकार सम्मेलन गर्दे आफ्नो कारोबारलाई चुस्त दुरुस्त राख्दै सदस्यहरुलाई वर्गीकरणको आधारमा बैशाख १५ गतेदेखि नगद भुक्तानी गर्ने जानकारी दिएको हो । बराह सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्माले ज्येष्ठ नागरिक, स्वास्थ्य उपचार, शिक्षा, फरक क्षमता भएका व्यक्तित्वहरुलाई प्राथमिकतामा राखेर बैशाख १५ गतेदेखि नगद भुक्तानी दिइने बताए । 

अध्यक्ष विश्वकर्माका अनुसार ठुलो रकम भुक्तानी गर्न नसकिने भएकोले वचतकर्ताहरुको वर्गीकरण गरेर थोरै साँवा र थोरै ब्याज भुक्तानी गरिनेछ । यसको लागि तालिका बनाएर एक दिनमा कति जनालाई, कति नगद भुक्तानी गर्ने भनेर जानकारी दिइने पनि उनले बताए । ‘ठुलो नगद भुक्तानी परिस्थिति सहज हुनासाथ गछौ, अहिलेलाई तालिका बनाएर थोरै साँवा र ब्याज भुक्तानी गर्नेछौ,’उनले भने,‘अहिलेको असहज परिस्थितिबारे हाम्रा वचतकर्ता, सेयर सदस्य ज्युहरुले बुझिदिएर सहयोग गर्नुहुनेछ भन्ने अनुरोध पनि गछौ ।’

baraha-sahakari

अध्यक्ष विश्वकर्माले कोरोना भाइरस पछिको विश्व बजारको अवस्थासँगै देशमा हाल देखा परेको बित्तिय असन्तुलन, तरलता, अभावले प्रभावित बनाएको बताए । कोरोना महामारीको असरले गर्दा ऋण लगानी उठ्न नसक्नु, वचतकर्ताहरुबाट निक्षेप संकलन हुनुभन्दा भुक्तानी बढी हुन थाल्नुलगायत कारणले असहज भएको उनको भनाई छ । ‘ऋणको भाका नाघेर असुल गर्ने प्रक्रिया शुरु गरेका छौ, तर जति प्रभावकारीरुपमा असुल हुनुपर्ने थियो, त्यो हुन सकेन,’अध्यक्ष विश्वकर्माले भने,‘कसैको कोभिडले मृत्यु भएको छ, कोही सम्पर्कविहिन भएका छन् । हामीले असुलको प्रक्रिया शुरु गरिसकेका छौ । हाम्रा सेयर सदस्य, वचतकर्ताहरुको विश्वासलाई हामी टुट्न दिने छैनौं ।’

बराहका कर्मचारीहरुलाई धेरै लगानी गरिएको सञ्चारकर्मीको प्रश्नको जवाफमा अध्यक्ष विश्वकर्माले कर्मचारी भएर नभै सहकारीको सदस्य भएका कर्मचारीहरुलाई ऐन, नियम र प्रक्रिया पुरा गरेर नै ऋण लगानी गरिएको प्रष्टीकरण दिए । साथै, जथाभावी लगानी गरिएकोले ऋण लगानी उठ्न नसकेको हो ? भन्ने प्रश्नमा पनि उनले सहकारीको ऐन, नियम र प्रक्रिया विपरीत लगानी नगरिएको दाबी गरे ।

गोर्खाको भवन १ अर्ब १ करोडमा खरिद

सञ्चारकर्मीहरुले धरान ८ स्थित गोर्खा डिपार्टमेन्ट स्टोरको व्यापारिक भवन खरिद गरिएको बिषयमा पनि प्रश्न उठाएका थिए । सञ्चारकर्मी निमा पोङ्सुवाले २९ करोड वास्तविक मुल्य भएपनि १ अर्ब बढीमा खरिद गरेको भन्ने चर्चा सुनिएको र सहकारीको पैसा उक्त भवनमा लगानी भएर आर्थिक संकट भएको हो ? भन्ने प्रश्न गरेका थिए । 

यो प्रश्नको जवाफ दिदै बराह ग्रुप अफ कम्पनीका अध्यक्ष शिव लामिछानेले उक्त भवन सहकारीले खरिद नगरेको नभै बराह ग्रुप कम्पनीले खरिद गरेको प्रष्ट पारे । साथै, उनले विभिन्न अफवाह र भ्रम फैलिरहेको भन्दै सहकारीको नियमभन्दा बाहिर गएर लगानी गर्न नपाइने जिकिर गरे । उनले भने,‘त्यो भवनको वास्तविक मुल्य १ अर्ब १ करोड हो, हामीले त्यतिमै खरिद गरेको हो । त्यो भवन सहकारीले किनेको पनि होइन, बराह ग्रुपले खरिद गरेको हो ।’

बराह ग्रुपका अध्यक्ष लामिछानेले विगत ६ महिनादेखि नै वचतकर्ताहरुलाई सहजरुपमा भुक्तानी गर्ने प्रक्रिया आफुहरुले शुरु गरेपनि विविध कारणले सहज नभएको बताए । तर, अब बैशाख १५ गते भने वचतकर्ताहरुलाई वर्गीकरण गरेर भुक्तानी गर्न समस्या नहुने उनले बताए । चैत २२ गते भुक्तानी दिने कुरा संस्थागत हुन नसकेको भन्दै लामिछानेले बैशाख १५ गते भुक्तानी गर्ने कुरा भने संस्थागत धारणा नै भएको पनि प्रष्ट पारे । 

baraha2 1