धरान:  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इर्मजेन्सी वार्डमा विरामीहरुले सास्ती भोग्नु परेपछि सामाजिक सञ्जाल फेसबुकमार्फत सहयोग जुटाएर विरामीलाई सुविधाको लागि ह्विलचियर हस्तान्तरण गरिएको छ।

फेसबुक ग्रुप हाम्रो धरान सरोकार समाजको संयोजनमा फेसबुक आह्वानबाट जुटेको सहयोगले १० थान ह्विलचियर प्रतिष्ठानको इर्मजेन्सी वार्डलाई शुक्रबार हस्तान्तरण गरिएको हो । उक्त ग्रुपका एडभिन तथा अग्रज पत्रकार महेश श्रेष्ठले इर्मजन्सी वार्ड इञ्चार्ज डा.मासुम पौडेललाई ह्विलचियर हस्तान्तरण गरेका थिए । पछिल्लो केही बर्षयता प्रतिष्ठानको व्यवस्थापन पक्ष खस्कदै जादा इर्मजेन्सी वार्डमा विरामीको लागि ह्विलचियर, ट्रली, बेडलगायतको अभाव छ । जसले गर्दा विरामीहरुले सास्ती खेप्दै आएका छन् । 

bp-emerg1

ह्विलचियर जिम्मा लिएपछि डा. पौडेलले सहयोगीहरुलाई धन्यवाद दिदै इर्मजेन्सीका विरामीहरुलाई विभिन्न परीक्षणको लागि ल्याबमा पठाउन सहज हुने बताइन् । उनले भनिन्, विरामीलाई धेरै सुविधा हुनेछ, उहाँहरुलाई परीक्षणको लागि ह्विल चियरमा पठाउन सक्नेछौ । पत्रकार एवं अभियन्ता श्रेष्ठले इर्मजेन्सीमा उपचारमा आउदा आफुले देखेको अफ्ठेरोलाई महशुस गरेर फेसबुक ग्रुपमार्फत ह्विलचियर सहयोगको लागि आवहान गरेको बताए । सोही आह्वान अनुसार विभिन्न व्यक्तिहरुबाट सहयोग प्राप्त भएपछि पहिलो चरणमा १० वटा ह्विलचियर प्रदान गरेको उनले बताए । ‘तत्काललाई १० वटा ह्विलचियर दिएका छौ, हाम्रो लक्ष्य १०० वटा ह्विलचियर दिने हो,’उनले भने ।

bp-emerg2

ह्विलचियरको लागि धरानका स्वर्गीय मेयर तारा सुब्बाकी श्रीमति इन्दु सुब्बा, प्रतिष्ठानका प्रा.डा.विक्रमप्रसाद श्रेष्ठ, प्रा.डा.सञ्जिव शर्मा, डा.रोशन कलवार, कान्तिपुर होटल मेनेजमेन्ट इन्स्टिच्युटका प्रबन्ध निर्देशक गगनमान श्रेष्ठले सहयोग गरेको अभियन्ता श्रेष्ठले जानकारी दिए । यस्तै, गोर्खा भूपू सैनिक अभियन्ता धरान ८ निवासी रमेश राई र श्रीमति रुपा राई, कुवेतमा रहेका दिपेन्द्र राई, मकाउमा रहेका केशवप्रकाश सम्यमखामले बुबाको नाममा र मकाउबाट नै सुरेश चौधरीले आफ्नो बुबाको नाममा सहयोग भएको पनि श्रेष्ठले बताए । उनले भने, ‘चिकित्सकहरुले राम्रो उपचार गर्दा गर्दै पनि समयमा विरामीलाई एक्स रे, ल्याबमा पुर्याउन ह्विलचियर अभाव भएको देखेपछि सहयोग गरिएको हो, यसमा कुनै व्यापारिक स्वार्थ छैन । स्वतःस्फुर्त सहयोग गरिएको हो ।’

bp-emergen