धरान: स्थानीय तह निर्वाचन नजिकिदै गर्दा धरान उपमहानगरपालिकाको वडाहरुमा नेकपा एमाले उम्मेदवारहरु धमाधम सिफारिश गर्न थालेको छ । 

एमाले धरान अध्यक्ष हर्कजंग एभेङका अनुसार वडा नं १५ र ८ बाहेक अन्य सबै वडा कमिटीहरुले आजै (शनिबार) उम्मेदवारहरुको सिफारिश गरिसक्नेछन् । केही वडाले दिउँसो १ बजेसम्म उम्मेदवारहरु सर्वसम्मत सिफारिश गरिसकेको पनि अध्यक्ष एभेङले जानकारी दिए । वडा १५ र ८ ले आइतबार बैठक बसेर उम्मेदवार सिफारिश गर्ने उनले बताए ।

उनका अनुसार वडा नं १४, वडा नं १८, वडा नं १९ ले वडाअध्यक्ष र सदस्यका उम्मेदवारहरु सर्वसम्मत सिफारिश गर्ने निर्णय गरेका छन् । वडा नं १८ बाट वडाअध्यक्षमा ऋषिराज राई, वडा सदस्यहरुमा खुलातर्फ खेमराज राई, गोपी योगी, महिला सदस्यमा सीता राई र दलित महिलामा कविता बिक सर्वसम्मत सिफारिश भएका छन् । 

cpn-uml

यस्तै, वडा नं १४ बाट वडाअध्यक्षको लागि उत्तम आले मगर सर्वसम्मत सिफाशि गर्ने निर्णय भएको छ भने खुलातर्फ सदस्यमा नन्दलाल गेलाल, होमबहादुर श्रेष्ठ, महिला सदस्यमा झरना पौडेल मुखिया र दलित महिला सदस्यमा दुर्गा बिक सर्वसम्मत सिफारिश भएका छन् ।

यसैगरि, वडा नं १९ वडा कमिटीले वडाअध्यक्षमा पुर्ण लिम्बुलाई सर्वसम्मत सिफारिश गर्ने निर्णय गरेको छ । उनी २०७४ सालमा निवार्चित वहालवाला वडाअध्यक्ष पनि हुन् । सदस्यहरुमा रसरथ थलङ, लोकेन्द्र राई, महिला सदस्यमा झुमा गुरुङ र दलित महिलामा चन्द्रमाया बिक पनि सिफारिश भएका छन् । 

वडा ७ र ९ मा अध्यक्ष उम्मेदवारमात्र सर्वसम्मत सिफारिश

वडा नं ७ र ८ मा वडाअध्यक्षको उम्मेदवार मात्र सर्वसम्मत सिफारिश पठाउने निर्णय भएको एमाले धरान उपमहानगर कमिटी अध्यक्ष एभेङले जानकारी दिए । उनका अनुसार वडा नं ७ मा जीवन सुवेदीलाई वडाअध्यक्षमा उम्मेदवार बनाउन सिफरिश गर्ने निर्णय भएको छ । अध्यक्ष सर्वसम्मत भएपनि सदस्यहरुमा भने सर्वसम्मत सिफारिश हुन सकेन । सुवेदी २०७४ सालमा वडा सदस्यमा निवार्चित भएका थिए भने २०७६ सालको उपनिर्वाचनमा अध्यक्षमा निवार्चित भएका थिए । 

यस्तै, वडा नं ९ मा पनि वडाअधयक्षको उम्मेदवारमा शिव राईलाई सर्वसम्मत सिफारिश गर्ने निर्णय भएको छ । तर, सदस्यहरुमा भने आकांक्षी धेरै भएपछि बढी संख्यामा सिफारिश भएका छन् । ‘वडा कमिटीबाट निर्णय भएको नामहरु नगर कमिटीमा आउछ, सर्वसम्मत भएमा त्यसैको आधारमा उम्मेदवारी हुन्छ । सर्वसम्मत नभएको वडामा जिल्ला मार्फत प्रदेश कमिटीमा सिफारिश गछौ, प्रदेश कमिटीबाट उम्मेद्वारको निर्णय हुन्छ,’ अध्यक्ष एभेङले भने ।