धरान: गोर्खा कम्पनी ट्रेनिङ सेन्टरले वीर गोर्खा पत्रकारिता पुरस्कार र वीर गोर्खा नवप्रतिभा पत्रकारिता पुरस्कार पाउने ३ जना पत्रकारको नाम सार्वजनिक गरेको छ।

धरान १८ रत्नचोकस्थित ट्रेनिङ सेन्टरले पत्रकार सम्मेलन गरी वीर गोर्खा पत्रकारिता पुरस्कार निलिफा सुब्बा र अर्जुन सुवेदीलाई प्रदान गर्ने जानकारी दिएको हो । पत्रकार सुब्बा धरानलाई कार्यक्षेत्र बनाएर सक्रिय छिन् भने सुवेदी इटहरीमा रहेर पत्रकारिता गर्दै आएका छन् । यो पुरस्कारको राशि जनही २५÷२५ हजार रुपैयाँ रहेको छ । 

यसैगरि, वीर गोर्खा नवप्रतिभा पत्रकारिता पुरस्कार पत्रकार पारस राईलाई दिने पनि सेन्टरले जनाएको छ । यो पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ । उनी धरान कार्यक्षेत्र बनाएर कार्यरत छन् भने मेयर तिलक राईको प्रेस संयोजक पनि हुन् । 

सेन्टरका प्रबन्ध निर्देशक प्रेमकुमार राईले गोर्खा भर्ती अन्यायविरुद्ध साहसका साथ कलम चलाउने, गोर्खाको इतिहास र देश निर्माणमा गोर्खाहरूले पुर्याएको योगदान तथा सामाजिक क्षेत्रमा गोर्खाहरूको सक्रियतालाई उजागर गर्ने पत्रकारहरुलाई सम्मानस्वरूप यो पुरस्कार दिइने बताए । सेन्टरले गत बर्षदेखि पुरस्कार प्रदान गर्न शुरु गरेको हो । 

यो पुरस्कार २०७९ साउन महिनामा साँस्कृतिक कार्यक्रमको आयोजना गरि प्रदान गरिने समेत राईले उनले जानकारी दिए । उनले वीर गोर्खा पत्रकारिता र नवप्रतिभा पत्रकारिता पुरस्कारको राशीमा ब्रिटिश आर्मीमा कार्यरत कप्रोल मण्डल थेवे र बहराइन आर्मीमा कार्यरत मविन राईको समेत सहयोग रहेको बताए ।

सेन्टरले गत वर्षदेखि प्रेस युनियन धरान नगरसमितिको सहकार्य तथा नेपाल पत्रकार महासंघ सुनसरीको सहयोगमा पुरस्कार वितरण गर्दै आईरहेको छ । पत्रकार सम्मेलनमा सेन्टरका प्रबन्ध निर्देशक राईले नेपाल पत्रकार महासंघका अध्यक्ष जनकऋषि राईको बुबाको स्मृति कोषका लागि नगद २० हजार रुपैयाँ प्रदान गरेका थिए ।