धरान: लागुऔषध मुद्दाका फरार प्रतिवादी रहेका धरान १९ का एक युवा पक्राउ परेका छन् । 

 १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको आरआइटीको प्रहरी टोलीले धरान १९ का ३६ बर्षीय सुरज भन्ने सरोज राईलाई पक्राउ गरेको हो । उनलाई लागुऔषध मुद्दामा उच्च अदालत बिराटनगरले २०७३ भदौ ५ गते कैद र जरिवाना फैसला गरेको थियो । प्रदेश प्रहरीका अनुसार राईलाई अदालतले १ बर्ष १० महिना २७ दिन कैद र १ लाख रुपैया जरिवाना फैसला गरेको थियो ।

अदालतबाट यो फैसला भएपनि उनले कैद र जरिवाना भुक्तान गर्न बाँकी देखिएपछि पक्राउ गरेको प्रदेश प्रहरीले जनाएको छ । उनलाई घरबाट नै पक्राउ गरेको र सुनसरी जिल्ला अदालतमा उपस्थित गराएर कैद भुक्तानको लागि झुम्का कारागार चलान गरिएको पनि प्रदेश प्रहरीले जनाएको छ।