धरान: बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचन सम्पन्न गर्न धरानसहित जिल्लाका स्थानीय तहहरुमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । 

धरान १२ स्थित पब्लिक माविको खेल मैदान दक्षिणतर्फ रहेको प्राविधिक भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । धरानमा निर्वाचन आयोगले परराष्ट्र मन्त्रालयका उपसचिव पुष्करराज नेपाललाई निर्वाचन अधिकृतकोरुपमा खटाएको छ । विद्यालयको ६ वटा कोठा निर्वाचन अधिकृतको कार्यालयको लागि प्रयोगमा रहने सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए । उनका अनुसार कार्यालयको सुरक्षाको लागि सशस्त्र प्रहरीको टोली पनि रहेनछ ।

election-dharan-office

बिहिबार मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारीसहित जिल्ला सुरक्षा समितिले निर्वाचन अधिकृतको कार्यालय स्थलगत अनुगमन गरेका थिए । सुनसरीका सिडिओ इन्द्रदेव यादव, प्रहरी प्रमुख तथा एसपी सञ्जसिंह थापासहितको सुरक्षा समितिको टोली अनुगमनको क्रममा धरान आएको थियो । 

बिहिबार अधिकृत कार्यालय खुल्ने र शुक्रबार राजनीतिक दलसहितको सर्वपक्षीय छलफल गरिने पनि सिडिओ यादवले जानकारी दिए । ‘मतदान केन्द्र, मतपेटिका ल्याउने, ११ र १२ गते उम्मेद्वार मनोनयन गर्नेलगायतको काम हुन्छ,’ उनले भने । सुरक्षा समितिको टोली रामधुनी, इटहरी, बराहक्षेत्र हुदै मतदानस्थलहरुको स्थलगत अनुगमनको क्रममा धरान आएको सुनसरीका एसपी थापाले जानकारी दिए ।