धरान: निर्वाचन अधिकृतको कार्यालयले धरानमा स्थानीय तह निर्वाचनबारे सर्वदलीय तथा सर्वपक्षीय छलफल गरेको छ । 

धरान १२ स्थित पब्लिक स्कुलको प्राविधिक भवनमा खुलेको कार्यालयमा हिजो (शुक्रबार) सर्वदलीय तथा सर्वपक्षीय छलफल गरेको हो । निर्वाचन अधिकृत पुष्करराज नेपालले उम्मेदवार मनोनयन, आवश्यक पर्ने कागजपत्र, प्रक्रियालगायतको बिषयमा प्रष्ट पारेका थिए । अधिकृत नेपालले उम्मेदवारहरुको खर्चको सिमाबारे प्रष्ट्याउदै उपमहानगरमा मेयर र उपमेयरका उम्मेदवारले मात्र ५ लाख ५० हजार मात्र खर्च गर्न पाउने जानकारी गराए । साथै, वडाअध्यक्ष र सदस्यहरुले मात्र २ लाख ५० हजार मात्र खर्च गर्न पाउने बताए । 

छलफलमा उपस्थित राजनीतिक दलका प्रतिनिधिहरुले नै खर्चको यो सिमितताबारे पत्याउन सकेनन् । उनीहरुले यति नै कसरी अनुगमन गर्नुहुन्छ ? भन्ने प्रश्न तेस्र्याए । तर, अधिकृत नेपालले जवाफ दिन सकेनन् । राजनीतिक दलका नेताहरुले खर्च जति नै गरेपनि खर्च देखाउदा आयोगले भनेअनुसारको मात्र विवरण पेश गर्ने भन्दै ठट्टा पनि गरे । 

यसैगरि, अधिकृत नेपालले वहालवाला जनप्रतिनिधिहरुले फेरि उम्मेदवार उठ्न चाहे मात्र राजिनामा दिनुपर्ने बताए । प्रमुख र उपप्रमुखले एकले अर्कालाई राजिनामा दिनुपर्ने बताए । वडाअध्यक्षले कार्यपालिका प्रमुखलाई सम्बोधन गरेर र वडाअध्यक्षले नगरसभा अध्यक्षलाई सम्बोधन गरेर राजिनामा दिनुपर्ने उनले बताए । राजिनामा तोक लागेपछि प्रमुख प्रशासकीय अधिकृतसमक्ष सनाखत गर्नुपर्ने र त्यहाँबाट निस्सा दिइने र मनोनयन दर्ता गर्दा पेश गर्नुपर्ने बताए । राजिनामा स्वीकृत गर्नुनपर्ने भन्दै उनले दर्ता मात्र गरे पुग्ने बताए । उम्मेदवार मनोनयनको क्रममा उम्मेदवार भएका व्यक्तिले एक जनाको मात्र प्रस्तावक वा समर्थक बस्न पाउने बताए । साथै, प्रस्तावक र समर्थक पनि उपस्थित हुनुपर्ने नेपालले बताए । 

दलित सदस्यको लागि निस्सा चाहिने, शनिबार पनि नगरपालिका खुल्ने

election-dharan

दलित महिला सदस्यमा उम्मेदवार हुन चाहनेले दलित भएको निस्सा पेश गर्नुपर्ने पनि निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । अधिकृन नेपालका अनुसार उक्त निस्सा दलित आयोग वा जिल्ला प्रशासन कार्यालयबाट सिफारिश लिएको भए त्यसलाई पनि मान्यता दिने बताए । साथै, नलिएकाहरुको हकमा धरान उपमहानगरपालिकाबाट निस्सा लिएको हुनुपर्ने पनि नेपालले बताए । 

आइतबार मनोनयन दर्ता गरिने भएकोले निस्सा लिन शनिबार धरान उपमहानगरपालिका बन्द हुने भएकोले समस्या हुने भन्दै राजनीतिक दलका प्रतिनिधिहरुले शनिबार खोल्न आग्रह गरेका थिए । प्रमुख प्रशासकिय अधिकृत लक्ष्मीप्रसाद पौडेलले दलित महिला सदस्यको उम्मेदवार बन्न चाहनेहरुलाई आवश्यक पर्ने प्रमाण जारी गर्न शनिबार १० बजेदेखि ५ बजेसम्म कार्यालय खुल्ने जानकारी गराए । जनप्रतिनिधिहरुको राजिनामा दर्ता र निस्सा दिनको प्रयोजनको लागि पनि कार्यालय खुल्ने उनले बताए ।