धरान: सप्तरीको खडग नगरपालिका ७ का रामदेव साहु तेलीसँग ऋण लिएर चुक्तासमेत गरिसके पनि आफ्नो जग्गा फिर्ता नदिएको भन्दै ७ जना पीडितहरु धरान आएका छन् । उनीहरु हिजो शुक्रबार तेलीलाई खोज्न प्रहरी गुहार्दै धरान आएका हुन् । पीडितहरु आज शनिबार पनि बिहानैदेखि ईलाका प्रहरी कार्यालय परिसरमा छन् । 

खडग नगरपालिका ६ का छेदीलाल पासवानका अनुसार व्यापार गर्न उनले तेलीसँग १६ लाख ऋण लिएका थिए । त्यसवापत उनले आफ्नो १६ कट्ठा १ धुर जग्गा साहु तेलीको नाममा राजिनामा पास नै गरिदिएका थिए । तेली मिटरब्याजमा ऋण लगाउने व्यक्ति हुन् । पासवानले पहिला पनि तेलीसँग यसरी नै कारोबार गरेका थिए । पैसा चुक्ता गरेपछि तेलीले इमान्दारपुर्वक नै जग्गा पनि फिर्ता गरिदिएको थियो । 

यसपटक भने पासवानले साहु तेलीबाट धोका पाएको बताए । उनले ब्याज र १६ लाख ऋण चुक्ता गरे पनि जग्गा फिर्ता नपाएको र प्रहरी प्रशासन, अदालत सबैतिर गुहार्न थालेको एक बर्षभन्दा बढी समय बितिसकेको बताए । तेली भने डेरा सर्दै राजविराज पुगेका थिए । अहिले उनी धरानमा बस्ने भएकोले पीडितहरु ७ जनाको टोली धरान आएको बताए । 

saptari-cash1

पीडितहरुले ईलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीको पत्र बोकेर आएका छन् । कल्याणपुर प्रहरीले धरान १९ मा बस्दै आएका रामदेव साहु तेलीको घर खानतलासी गरेर पीडितहरुको तमसुक कागज वा ऋण दिएको लिएको विवरण उल्लेख भएको रजिष्ट्रार फेला परे पठाइदिन धरान प्रहरीलाई अनुरोध गरेको छ । शुक्रबार दिनभर जसो प्रहरी कार्यालयमा बसेपनि सुनुवाई हुन नसकेको उनीहरुको गुनासो छ । 

सप्तरीको सुरुङ्गा नगरपालिका ६ का नथुनी साह पनि धरान आएका छन् । उनले ३० लाख ऋण लिदा १ बिघा ६ कट्ठा जग्गा साहु तेलीको नाममा राजिनामा पास गरेका थिए । एक बर्षभित्रै उनले ५० लाख रुपैया साहु तेलीलाई तिरिसकेको बताउँछन् । ‘मैले एक बर्षमै ५० लाख दिए, अब जग्गा फिर्ता गर्ने बेला मान्छे भागेको भागेकै छ । शुरुमा बैंकमा छ, १ महिना समय देउ भन्यो, अहिले भेटिदै भेटिदैन,’साहले भने । 

saptari4

बोदेबर्साइन नगरपालिका ७ का महमद तैयब अली, वडा ९ का सितल यादव, खडग नगरपापिलका ८ का बच्चालाल साह, बोदेबर्साइन ५ का रामप्रसाद खत्वे, शम्भुनाथ नगरपालिका ११ की ललिता देवी मण्डल पनि न्याय पाउने आशामा धरान आएकी छिन् । ललिता देवीले तेलीसँग १० लाख ऋण लिएर १५ कट्ठा जग्गा राजिनामा पास गरिदिएको बताइन् । अहिलेसम्म पटक पटक गरि ३० लाख बुझाइसके पनि जग्गा फिर्ता नपाएको उनले बताइन् । 

आफुहरुले पटक पटक बसेर हिसाब किताब गरौं भन्दा पनि साहु तेली भागिहिड्ने गरेको पीडितहरुको भनाई छ । धरान प्रहरीले पनि गम्भीरतापुर्वक साहु तेलीको खोजी नगरिदिए अनसन बस्ने छेदीलालले चेतावनी दिएका छन् । पीडक साहु तेलीको छोरीले सप्तरी प्रहरी, प्रशासनमा पटक पटक बुबा ल्याउने, बहिखाता ल्याउने र मुन्सी पनि उपस्थित गराउने भनेर कागज गरेपनि कार्यान्वयन नभएको उनले बताइन् । साहु तेलीविरुद्ध सप्तरीमा ठगी मुद्दा दर्ता भएको छ, तर उनीहरुले न्याय पाउन सकेका छैनन् । धरानका डिएसपी बुद्ध श्रेष्ठले घटनाबारे विस्तृत बुझेर तेलीको घर खानतलासी गर्न पठाउने बताए ।


 

तेलीको मुन्सीले दिएको वयानको कागज:

saptari5

saptari6

saptari8