धरान: बैशाख ३० गतेको निर्वाचन नजिकिदै गर्दा धरानका जनप्रतिनिधिहरुले धमाधम राजिनामा दिन थालेका छन् । 

आज मध्याह्न १२ बजेसम्म ५ जना वडाअध्यक्षसहित १४ जना जनप्रतिनिधिहरुले राजिनामा दिइसकेका छन् । निर्वाचनमा उम्मेदवार बन्न चाहने जनप्रतिनिधिहरुले मनोनयन दर्ता गर्नुअघि राजिनामा दिनुपर्ने भएपछि २०७४ मा निवार्चित जनप्रतिनिधिहरुले धमाधम पदबाट राजिनामा दिन थालेका हुन् । 

हालसम्म धरानको वडा नं ५ का अध्यक्ष सन्तोष लिम्बु, वडा नं ७ का अध्यक्ष जीवन सुवेदी, वडा नं १३ का अध्यक्ष नेत्र काफ्ले, वडा नं १४ का अध्यक्ष कृष्णप्रसाद भटट्राई र वडा नं १७ का अध्यक्ष सुर्यबहादुर भटट्राई (मनोज)ले राजिनामा दिइसकेका छन् । लिम्बु, काफ्ले, सुवेदी र भट्टराई पुनः वडाअध्यक्षमा उम्मेदवारी दिने तयारीमा छन् भने वडा १७ का अध्यक्ष भट्टराई माओवादी केन्द्रबाट उपमेयरको पनि आकांक्षी छन् । उनी उपमेयरमा सिफारिशमा नपरे पुनः वडाअध्यक्षमा उम्मेदवारी दिने बताइएको छ ।

rajinama1

यस्तै, वडा १० बाट दलित महिला सदस्य अरुणा सुन्दास, वडा सदस्यहरु सम्सेर वर्देवा र कृष्णबहादुर राईले पनि राजिनामा दिएका छन् भने वडा नं ६ का वडासदस्य हरिबहादुर राई, वडा १३ की दलित महिला उर्मिला परियार, वडा ७ की दलित महिला कुमारी बिक, वडा ९ का सदस्य शरदरत्न पार्थिव, वडा १३ का सदस्य सन्तोष राई र वडा ४ का सदस्य गोरसमान गुरुंगले पनि राजिनामा दिइसकेका छन् । 

राजिनामा दिएका जनप्रतिनिधिहरुको निवेदन दर्ता भएपछि निस्सा प्रदान गरिएको धरान उपमहानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए । उनले भने,‘मनोनयन दर्ता गर्दा राजिनामा दिएको निस्सा चाहिन्छ । निवेदन दर्ता भएपछि हामी राजिनामा दर्ता भएको पत्र निस्सा दिन्छौ ।’

निर्वाचन आयोगले भोली आइतबार र पर्सि सोमबार मनोनयन दर्ता गर्ने समय तोकेको छ । आइतबार मनोनयन दर्ता गर्नको लागि भिडभाड हुने र समय नपुग्ने भएकोले राजिनामाको निस्सा प्रदान गर्न आज शनिबार पनि उपमहानगरपालिका खुलेको छ। यस्तै, दलित महिला सदस्यमा उम्मेदवारी दिन चाहनेहरुलाई पनि निस्सा आवश्यक भएकोले उक्त सेवाको लागि पनि शनिबार कार्यालय खोलेर सेवा दिइएको अधिकृत पौडेलले बताए ।