धरान: सप्तरीबाट पैसा र जग्गासमेतर कुम्ल्याएर भागेका मिटर ब्जायी रामदेव साहु तेली धरान १९ मा बस्दै आएको खुलेको छ । 

पीडितहरु शुक्रबार धरान आएपछि थुप्रै सप्तरीबासीको पैसा र जग्गा दुवै ठगी गरेर उनी धरान १९ धनकुटे रोडमा बस्दै आएको खुलेको हो । ईलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीले घर खानतलासी गरेर पीडितहरुको तमसुक कागज वा लेनदेनको हिसाब किताब भएको रजिष्ट्रार फेला परे पठाइदिन भन्दै धरान प्रहरीलाई पत्राचार गरेको थियो । उक्त पत्र लिएर शुक्रबार नै धरान आएका पीडितहरुको मागको सुनुवाई शनिबार (हिजो ) दिउँसो मात्र भएको थियो । 

सप्तरीबाट ७ जना पीडितहरु धरान आएका थिए । धरान प्रहरीको टोली शनिबार दिउँसो धरान १९ स्थित तेलीको घरमा दुई पटक पुग्यो, तर दुई पटक नै पीडितहरुलाई गेटभित्र पस्न दिइएन । पहिलो पटक पीडितहरुलाई गेटबाहिरै राखेर २ जना प्रहरी मात्र घरमा छिरेको थियो । झण्डै आधा घण्टा भित्र बसेको प्रहरीले खानतलासी गर्न जनप्रतिनिधि, छरछिमेक पनि चाहिने भन्दै फर्कियो । दोस्रो पटक जनप्रतिनिधि र छरछिमेकीसहित प्रहरी टोली प्रवेश गरेको थियो । पीडितहरु घर बाहिरै बसे । घरमा केही पनि भेटिएन भन्दै टोली फर्कियो । 

saptari-miter-byaj

पीडित छेदीलाल पासवान आफुहरुलाई भित्र प्रवेश नदिई खानतलासी गरिएको भन्दै असन्तुष्टी प्रकट गरे । उनले शुक्रबार नै आफुहरुले कल्याणपुर प्रहरीको खान तलासी गर्न पठाएको पत्र लिएर आएपनि धरान प्रहरीले ढिलाई गरेकोमा पनि आक्रोश पोखे । ‘कल्याणपुरबाट पहिला पनि खान तलासी गर्न पत्र आएको थियो, तर भयो भएन थाह पाइएन । हामी आफैले अर्को पत्र लिएर आयौ, शुक्रबार नै गरिदिएको भए हुन्थ्यो,’पीडित पासवानले भने,‘हामी पत्र लिएर आएको थाह पाएर बही खाताहरु अन्यत्रै लुकाउने मौका पायो होला । प्रहरीबाट पनि लापरवाही भयो । हामी सप्तरी फर्किदैछौं ।’

शनिबारै पनि पहिलो पटक प्रहरी मात्र भित्र छिरेर जनप्रतिनिधि र छरछिमेक, भद्रभलाद्मी चाहिने भन्दै फर्कियो । दोस्रो पटक खान तलासी गर्न टोली आउनुअघिको समयमा पनि महत्वपुर्ण कागजपत्र लुकाउने समय पाएको भन्दै पीडितहरुले गुनासो गरे । ‘कोही ४ बर्षदेखि, कोही २ बर्षदेखि, कोही ६ महिनादेखि यसरी नै प्रहरी, प्रशासनको ढोका ढकढकाइरहेका छौ, तर न्याय पाउने आशा कतैबाट देखिएको छैन,’अर्का पीडित बोदेबर्साइन नगरपालिका ७ का महमद तैयब अलीले भने ।

saptari-pidit

पीडितहरुका अनुसार साहु तेलीसँगको लेनदेनको मुख्य बही खाता र कपाली तमसुक गरेको कागज छ । आफुहरुले ऋण लिएको र तिरेको रकमबारे तेलीकै मुन्सीले पनि लेखिदिएका छन् । साहु तेली विरुद्ध अदालतमा ठगीको मुद्दासमेत दायर भएको छ । पीडितहरुको तमसुक कागज वा ऋण दिएको लिएको विवरण उल्लेख भएको रजिष्ट्रार फेला परे पठाइदिन भन्दै सप्तरीको कल्याणपुर ईलाका प्रहरी कार्यालयले धरान प्रहरीलाई पत्राचार गरेको थियो । पीडितहरु त्यही खाता भेटिने आशामा धरान आएका हुन् । तर, शनिबार खान तलासीको क्रममा नभेटिए पछि निराश भई सप्तरी फर्किए ।

ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक गजेन्द्र रायले भद्रभलाद्मी र वडाका जनप्रतिनिधिहरुको रोहबरमा खान तलासी गरेपनि हरहिसाब भएको खाताहरु नभेटिएको बताए । उनले पीडितहरुलाई प्रवेश गर्न नदिएकोबारे भने, ‘कानुन वमोजिम नै हामीले खान तलासी गरेको हो । भनेको जस्तो केही भेटिएन । स्थानीय भद्रभलाद्मी, जनप्रतिनिधिको रोहबरमा नै गर्यौ ।’

भिडियो:

पीडितहरु सप्तरी फर्किए पनि केही दिनपछि पुनः धरान आउने बताएका छन् । उनीहरुले न्याय नपाएसम्म साहु तेलीको धरानस्थित घर अगाडि नै अनसन बस्ने पनि बताएका छन् । ‘हामी पीडित मान्छे, कानुनको सहारामा आयौ, तर न्याय पाउने आशा कम देख्दैछुँ,’पीडित पासवानले भने,‘अब हामीसँग अरु कुनै उपाय भएन । हामी यही धर्ना दिन्छौ, उसकै घरअघि टेण्ट गाडेर धर्ना बस्छौ ।’

सप्तरीको खडग नगरपालिका ७ का रामदेव साहु तेलीसँग ऋण लिएर चुक्ता समेत गरिसके पनि आफ्नो जग्गा फिर्ता नदिएको भन्दै ७ जना पीडितहरु धरान आएका थिए । पीडितहरुका अनुसार ७ जनाको १० बिगाह भन्दा बढी जग्गा तेलीसँग छ । उनीहरुले ऋण लिदा तेलीलाई आफ्नो जग्गा राजिनामा पास गरिदिएका थिए । ऋण चुक्ता गरेपछि जग्गा फिर्ता गर्ने सर्तमा राजिनामा पास गरेको पीडितहरुको भनाई छ । विगतमा भने तेलीले ऋण चुक्ता गरेपछि जग्गा फिर्ता गर्ने गरेपछि पछिल्लो समय थुप्रैको जग्गा फिर्ता नगरि गायब भएका थिए । साहु तेली कल्याणपुरबाट केही समय राजविराज बसेको र अहिले धरान १९ मा घर किनेर छोरासँग बस्दै आएको पीडितहरुको भनाई छ । 

भिडियो: