धरान: बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा लागि मेयरमा उम्मेद्वारी दिएका हर्कराज राई (साम्पाङ)ले चुनाव चिह्न लौरो (लाठी) पाएका छन् ।

धरान १२ स्थित निर्वाचन अधिकृतको कार्यालयमा आज (शनिबार) स्वतन्त्र उम्मेद्वारहरुलाई चुनाव चिह्न वितरणको क्रममा साम्पाङले लौरो पाएका हुन् । अल्फावेटिकल अनुसार चुनाव चिह्न छान्नु पर्दा उनको अन्तिममा पालो परेको थियो । अन्य उम्मेद्वारले छोडेको चुनाव चिह्न लौरोलाई उनले छानेका हुन् । ‘मेरो छान्ने पालो अन्तिममा थियो । अरुले छोडेको लिएको हो,’साम्पाङले भने,‘लौरो निर्बलहरुको सहारा हो । वद्मासहरुलाई तह लगाउने, जनावरहरुबाट बच्ने साधन पनि हो ।’

साम्पाङ धरानका चर्चित सामाजिक अभियन्ता हुन् । उनले खासगरि खानेपानी समस्या, भ्रष्टचारविरुद्ध, सुशासन र पारदर्शिताको मुद्दा उठाउदै आएका छन् । चुनावको मुखमा साम्पाङको एजेण्डा र अभियानदेखि कांग्रेस, एमाले जस्ता ठुला राजनीतिक दल पनि झस्किएको छ । ती राजनीतिक दलका नेता, कार्यकर्ताहरुले स्वतन्त्र उम्मेद्वार एक्लैले जितेर नेतृत्व गर्न नसक्ने भन्दै साम्पाङबारे टिप्पणी गर्ने गरेका छन् ।

७ जना वडाअध्यक्ष उम्मेद्वारको पनि चुनाव चिह्न लौरो

स्वतन्त्र उम्मेद्वार हर्कराज राई (हर्क साम्पाङ)कै टिमबाट धरानमा ८ जनाले वडाअध्यक्षमा पनि उम्मेद्वारी दिएका छन् । ती मध्ये ७ जनाको चुनाव चिह्न पनि लौरो नै रहेको छ । एक जना वडाअध्यक्षका उम्मेद्वारले मात्र गल्तीवश अर्को चुनाव चिह्न छानेको साम्पाङले जानकारी दिए ।

हर्क साम्पाङकै चुनाव चिह्न लौरो भएका उनको टिमका वडाअध्यक्षका उम्मेद्वारहरुमा वडा १ का विहानसिंह श्रेष्ठ, वडा ११ मा बबिता राई, वडा १२ मा अशोक बज्रचार्य, वडा १४ मा निर्मल नेपाल, वडा १५ मा मिनेन्द्र नेपाली, वडा १७ मा रसिक लिम्बु र वडा १८ मा सर्दुशन लिम्बु छन् । वडा नं ७ का वडाध्यक्षका उम्मेद्वार अशोक शर्माले मात्र पानीको धारा चुनाव चिह्न छानेको साम्पाङले बताए ।