धरान: जिल्ला प्रशासन कार्यालयले स्थानीय तह निर्वाचन शुरु हुनुभन्दा ठिक १२ घण्टा अघिदेखि निषेध आदेश जारी गरेको छ । 

सुनसरी प्रशासनले आज (बिहिबार) राती ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मको लागि निषेध आदेश जारी गरेको हो । प्रशासनले भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिका भरी नै निषेध आदेश जारी गरेको छ भने इटहरी उपमहानगरपालिकाको वडा नं ३, दुहबी नगरपालिकाको वडा नं १, ८ र ९ मा पनि उक्त आदेश जारी गरेको छ । यसैगरि, इनरुवा नगरपालिका वडा नं ३, ९ र १० मा पनि निषेध आदेश जारी गरिएको प्रशासनले जनाएको छ । 

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जारी गरेको आदेशमा निषेध अवधिमा सुरक्षा निकायसँग समन्वय गरेर बाहेक व्यक्तिगत वा सामुहिक हिसाबले कोही पनि घर बाहिर ननिस्कन उल्लेख गरिएको छ । आदेश विपरीत भए गरेको पाइएमा वा अटेर गरेको पाइएमा स्थानीय प्रशासन ऐन अनुसार कारबाही गरिने पनि प्रशासनले जनाएको छ । 

किन भयो निषेध आदेश ?

मतदानको ४८ घण्टा अघिदेखि नै देशभर मौन अवधि लागु भएको छ । मौन अवधिमा राजनीतिक दल, उम्मेद्वार वा कसैले पनि चुनावी प्रचारप्रसार गर्न, मतदातालाई प्रभावित पार्ने गतिविधि, भेलाहरु गर्न पाइदैन । तर, यही अवधिमा राती राती मतदाताहरुलाई प्रभावित पार्ने गरि राजनीतिक दलहरु सक्रिय भएको र दोहोरो झडप हुने सम्भावना भएपछि निषेध आदेश जारी गर्नुंपरेको प्रमुख जिल्ला अधिकारी यादवले बताए । 

सुनसरीका एसपी सञ्जयसिंह थापाले पनि राजनीतिक दलका कार्यकर्ताहरु रातीको समयमा सक्रिय हुन थालेकोले मुठभेठ हुन नदिन उक्त आदेश जारी गर्नुपरेको बताए । निर्वाचनको लागि जिल्लाभर म्यादी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरि करिब ४३ सय सुरक्षाकर्मीहरु परिचालन गरिएको पनि उनले बताए । 

notice-sunsari