धरान: धरानको मेयर हुने सुनिश्चित भइसकेका स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङले आफ्नो नभै जनताको जित भएको बताएका छन् ।

उनले धरानलाई सुशासन र विकाससँग जोड्ने पनि धारणा व्यक्त गरे । सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै उनले फरक पार्टी भयो भन्दैमा झगडा गर्न जाने नभै धरानको हित चाहने व्यक्ति नै जनताबाट चुनिएर आउने पनि उनको भनाई छ । पार्टी नमिल्दैमा झगडा गर्नुपर्छ भन्ने नभएको पनि उनले बताए । 

खानेपानी पहिलो प्राथमिकता

साम्पाङले आफु निवार्चित भएपछि पहिलो प्राथमिकता खानेपानी समस्या समाधान गर्नु रहेको बताएका छन् । खानेपानी उत्पादन र वितरणमा कडा निगरानी गर्ने उनको भनाई छ ।

वितरण प्रणालीमा लापरवाही नहुने भन्दै उनले स्रोत थप्न तत्काल पहल गर्ने पनि साम्पाङले बताए । ‘धरानलाई खानेपानी समस्याबाट मुक्त गराउनु नै मेरो प्रमुख उद्देश्य हुनेछ । जनतालाई खानेपानी खुवाउन सकेको दिन मात्र म आफुलाई सफल सम्झन्छुँ,’उनले भने ।

धरानबासीले किन दिए साम्पाङलाई भोट ?

harka-click2

बैशाख ३० गतेको निर्वाचन नजिकिदै गर्दा लोकतान्त्रिक वाम गठबन्धन र नेकपा एमालेका उम्मेद्वारबीच प्रतिस्पर्धा हुने सबैको आँकलन थियो । अघिल्लो चुनावमा पाएको मत हिसाब गर्दै बसेका कांग्रेस, एमाले र माओवादी केन्द्रले मेयरमा स्वतन्त्र उम्मेद्वारी दिएका सामाजिक अभियन्ता हर्कराज राई (साम्पाङ) लाई आफ्नो चुनौती हो भन्ने सोचेनन् ।

जब चुनावी मतपरिणाम आउन थाल्यो, तब सबै चकित भए । आज (आइतबार) बिहान ९ बजेसरमम वडा १६ र १७ को मतगणना आइ नसक्दै साम्पाङ धरानको मेयर हुने सुनिश्चित भइसकेका छन् । यी दुवै वडामा पनि साम्पाङको चुनाव चिह्न लौरोकै पक्षमा जनमत देखिन्छ । 

यसपटक धराने जनताले मुलुकको नेतृत्व गरिसकेको ठुला दल र तिनका उम्मेद्वारलाई पत्याएनन्, र एक व्यक्तिको पक्षमा उभिए । साम्पाङसँग न संगठन छ, न राजनीतिक दलको जस्ता कार्यकर्ताहरु नै छन् । तर पनि उनलाई धराने जनताले पत्याए । आखिर किन ? यसको जवाफ मतगणना भइरहेको धरान १२ स्थित पब्लिक माविको मैदानमा भेटिएका धरान १५, पर्शुराम राईले दिए । 

उनले भने, ‘२०४६ सालपछि हामीले निरन्तर भोट हाल्यौ । तर कसैले पनि गछौं भनेको काम गरेनन् । बरु हर्क साम्पाङले जनताको पक्षमा वकालत गर्नुभयो । भ्रष्टचारको विरोध गर्नुभयो, विपी हस्पिटल सुधारको लागि लड्नु भयो । यो कुरा मनन् गरेर नै मैले लौरोमा भोट हाले ।’ शुरुमा एमालेमा रहेका राई पछि माले भए । माओवादी खुला राजनीतिमा आएपछि उनले माओवादीलाई पनि साथ दिए । तर, कसैले पनि जनताको लागि काम नगरेको भन्दै उनी निराश छन् । ‘हर्क साम्पाङ ठिक लाग्यो, र यसपाली भोट दिएँ,’उनले भने । 

harka-click 1

स्वतन्त्र उम्मेद्वार साम्पाङले मुख्य चुनावी मुद्दा खानेपानीलाई बनाएका थिए । खानेपानी धरानको सबैभन्दा ठुलो समस्या हो । धरानमा ठुला दलहरुले राजनीतिक संयन्त्रमा हुँदा नै २२ मिलियन डलरको खानेपानी परियोजना ल्याउन भुमिका खेले । विरोध हुँदा हुँदै पनि करोडौं ऋणमा ल्याएको परियोजनाको समय सकियो, तर २०७४ र २०७६ को उपनिर्वाचनबाट चुनिएका जनप्रतिनिधिले पनि कार्यकाल पुरा भइसक्दा जनतालाई खानेपानी वितरण गर्न सकेनन् । साम्पाङले यो आयोजनामा भ्रष्टचार भएको भन्दै निरन्तर आन्दोलन गरेर जनताको मन जिते । कम्युनिष्टलाई निरन्तर जिताइरहेका धराने जनताले २०७६ को उपनिर्वाचनमा पहिलो पटक नेपाली कांग्रेसलाई जिताए । अपेक्षित परिणाम पाउन नसक्दा पुनः निराश भए ।

लिटरको १ रुपैया दरले पानी किनेर पिउनु परेपछि धरान ११ की बनु राईको मन साह्रै कुँडिएको थियो । के गर्ने, कसो गर्ने भन्ने भइरहेको बेला साम्पाङले खानेपानीको लागि आन्दोलन गरेको उनले सुनिन् । त्यसपछि, साम्पाङसँगै निरन्तर आन्दोलन र अभियानमा लागेकी थिइन् । यसपाली वडा अध्यक्षमा उम्मेद्वार पनि बनिन् । आफ्नो जित नभए पनि साम्पाङले जनताबाट साथ पाएकोमा उनी असाध्यै खुशी छिन् । ‘उहाँ निःस्वार्थ हुनुहुन्छ, बोलीको पक्का हुनुहुन्छ । धरानलाई सुशासन दिएर भ्रष्टचारमुक्त बनाउनुहुन्छ भन्ने विश्वासले नै मैले पनि साथ दिएँ,’उनले भनिन् ।

धरान १५ विशाल चोककी हिमा पौडेल पनि विगतमा एमालेलाई भोट दिदै आएकोमा यसपाली स्वतन्त्र उम्मेद्वारलाई भोट दिएको खुलेर बताउँछिन् । भोट दिनुको कारणबारे उनी भन्छिन्,‘हामीले पार्टीलाई पटक पटक भोट दियौ, केही भएन । महंगाी बढ्यो । पानी हप्तामा १ दिन पनि पाएनौ । जनतालाई आशा मात्र देखाउने, काम नगर्ने भए । हामीलाई विश्वास घात गर्नुहुन्न भन्ने आशा लागेर यसपाली लौरोमा भोट हाल्यांै ।’

साम्पाङको पक्षमा खुलेका यी तीन जना प्रतिनिधि पात्र हुन् । यसपाली धरानका जनताले नगर प्रमुख पदमा राजनीतिक दलका उम्मेद्वारलाई अस्वीकार गरिदिए । महेन्द्र बहुमुखी क्याम्पस धरानका उपप्राध्यापक राजेशकुमार यादव ‘विद्रोही’ धरानको यो मतपरिणामलाई दलहरुप्रतिको नागरिकको आक्रोशको अभिव्यक्त भन्छन् । दलहरुप्रति जनताले हरेक पटक गरेको विश्वास र अपेक्षा पुरा नभएको कारण आक्रोशपुर्ण अभिव्यक्ति मतपरिणाममा आएको उनले बताए । 

जनताको सपना ठुलो नभएको तर नेताहरुले नै ठुला सपना देखाएर पुरा नगर्दा निराशा छाएको उनको भनाई छ । खानेपानी, शिक्षा, स्वास्थ्य, महंगी नियन्त्रणमा मात्र ध्यान दिदा पनि जनता खुशी हुने उनको भनाई छ । ‘अब दलहरुले टिकट दिदैमा जित्छ भन्न सकिदैन । लोकतन्त्रमा मतदाताहरुले मतदाधिकारमार्फत आफ्नो अभिमत व्यक्त गर्ने हुन्, अहिले त्यही भइरहेको छ,’उपप्राध्यापक विद्रोहीले भने,‘दलहरुले उम्मेद्वार छनौट गर्दा पनि विवकेपुर्ण देखिएन । जनताले चाहेको, जनतामा भिजेको उम्मेद्वार भएको हुनुपर्ने रहेछ । मतदाताहरु सचेत हुन थालेका छन् । छानी छानी मतदाताहरुले आफुले रोजेको उम्मेद्वारालई भोट दिएका छन् ।’ 

राजनीतिक विश्लेषक एवं सहप्रध्यापक डा.राजेन्द्र शर्मा पनि साम्पाङले निरन्तर जनचासोका बिषय, बेथिती र भ्रष्टचारविरुद्ध आवाज उठाइरहेकोले जनताको विश्वास जितेको बताउँछन् । सर्दु जलाधार अतिक्रमण विरुद्ध, खानेपानी, बसपार्क, सर्दु उत्खनन्मा भएको अनियमितता, विपी प्रतिष्ठानको बेथिती, नगरपालिकाको भ्रष्टचारविरुद्ध साम्पाङले निरन्तर आवाज उठाउदै खबरदारी गरेको र जनताले त्यही रुचाएको शर्माले बताए । ‘जनताले यो मान्छे आयो भने गर्छ भनेर विश्वास गरे । पार्टीहरुले उठाएका पुराना अनुहार मन पराएनन्, भ्रष्टचारको जालो र सेटिङको कारण जनताले विकल्प खोजदा परिणाममुखी व्यक्तित्व हर्क साम्पाङ भेटे,’शर्मा भन्छन् ।

"निरन्तर जनताको मुद्दा उठाएँ"

harka-sangpang

साम्पाङ पनि आफुले निरन्तर जनताको समस्या, जनजीविकाको बिषयमा आवाज उठाइरहदा नै आफुलाई विश्वास गरेको ठान्छन् । ‘मैले ठुलो मुद्दा उठाएको होइन, जनताको जनजिविकाको बिषयमा आवाज उठाएको हो, जनतालाई ठुलो कुरा चाहिएको पनि होइन रहेछ,’उनी भन्छन्,‘खानेपानी समस्या, नगरपालिका र विपी प्रतिष्ठानको भ्रष्टचारबारे बोले, सडकको खाल्डाखुल्डी, महंगी नियन्त्रणबारे पनि आवाज उठाए, यो सबै जनताकै मुद्दा हो, त्यसैले जनताबाट पनि मैले साथ पाएँ ।’

साम्पा ङ २०७६ को उपनिर्वाचनमा पनि मेयरमा स्वतन्त्र उम्मेद्वार थिए । त्यसबेला उनी ४२२ मत ल्याएर पराजित भए । तर, उनी निराश भएनन् । निरन्तर वस्ती वस्तीमा पुगेर जनताको समस्या बुझ्ने काम गरे । राजनीतिक दलहरु चुनावको बेला मात्र घरदैलो गर्दा साम्पाङ भने सधै जनताकै माझमा पुगिरहेका हुन्थे । उनी कहिले सिमा अतिक्रमण र एमसिसिविरुद्ध एक्लै प्रर्दशन गर्थे, कहिले सिमित संख्यामा आफ्नो समर्थकहरुको साथमा विरोधमा उत्रने गर्थे । 

सिमा अतिक्रमणको मुद्दा चर्किदा उनले इटहरीस्थित नेपाली सेनाको पुर्वी पृतना अघि पनि पुगेर सेनालाई ब्यारेकमा होइन, सिमानामा खटाऊ भन्दै प्रर्दशनसमेत गरेका थिए । सर्दु खोला जथाभावी उत्खनन् भएको विरोधमा जादा ठेकेदारको समुहले उनका समर्थकहरुलाई आक्रमण गरेर घाइतेसमेत बनाएको थियो । पछि प्रहरीले उल्टै उनी र उनका साथीहरुलाई मुद्दा चलाएको थियो । खानेपानीको मुद्दा निरन्तर उठाइरहेका साम्पाङलाई पाइप तोडफोड गरेको आरोपमा प्रहरीले समातेर मुद्दासमेत लगायो । ‘मैले जे गरे, जनताकै लागि गरे, जनताले मलाई नियालिरहनु भएको रहेछ भन्ने लागेको छ,’ साम्पाङ भन्छन् । 

भिडियो: