धरान: धरानका मेयर हर्कराज राई (साम्पाङ)ले कोशीको पानी ल्याएर धरानबासीहरुलाई खुवाउने आफ्नो सबभन्दा ठुलो संकल्प र सपना भएको बताएका छन् ।

जनसरोकार मञ्च नेपालद्धारा आइतबार आयोजित बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै मेयर राईले यस्तो बताएका हुन् । उनले कोशीबाट पानी नल्याएसम्म धरानको बढ्दो जनसंख्यालाई स्थायीरुपमा थेग्ने गरि खानेपानीको स्थायी समाधान नहुने पनि बताए । साथै मेयर राईले कोशीबाट पानी ल्याउन प्रदेश सरकार, केन्द्र सरकारलाई पनि गुहार्ने र धरानको बजेट पनि त्यसै अनुसार बनाउने बताए । त्यसरी पनि बजेट नपुगे संसारभरि रहेका नेपालीहरुलाई गुहारेरै भएपनि धरानलाई कोशी पानी खुवाउने मेयर राईले बताए । 

mayor-harka

उनले आफ्नो कार्यकालमा पानीको समस्या समाधान गर्ने जिकिर गर्दै अबको चुनावमा कोही पनि पानीको अजेण्डा बोकेर मेयर नबन्ने पनि दाबी गरे । आफ्नो अर्जुनदृष्टि सप्तकोशीबाट पानी ल्याउनु रहेको उनको भनाई थियो । ‘जबसम्म त्यो सपना पुरा गर्दैनौ, तबसम्म खानेपानीको अभाव भोगिरहनै पर्छ । खोला खोल्सीमा कोट्याएर, खाल्डा अर्को खोनर टालटुल गरेर हुनेछैन,’मेयर राईले भने,‘हामीलाई ३२ इञ्चको पाइपमा कोशीबाट पानी ल्याएर जबसम्म प्राप्त हुदैन, तबसम्म धरानको बढ्दो जनसंख्यालाई थेग्ने गरि स्थायीरुपमा खानेपानीको समस्या समाधान हुदैन । त्यो अर्जुन दृष्टिको साथ हामी त्यहाँ लाग्छौ । बरु अरु काम म नगरौला, तर पानी त जसरी पनि खुवाउनुपर्छ भन्ने मलाई लागेको छ ।’

आफ्ना विरोधीलाई दिए धन्यवाद 

mayor-harka1

मेयर राईले आफ्ना विरोधी र आलोचकहरुलाई बिशेष धन्यवाद पनि दिएका छन् । साथै, आफ्नो जति आलोचन र विरोध हुन्छ, आफु त्यति नै परिष्कृत र सुधारिदै जाने भएकोले अझै आलोचना र विरोध गर्न पनि उनले आग्रह गरे । ‘विगतमा मलाई सत्तापक्षबाट जति प्रहार भयो, त्यसले ममा धारहरु निस्कदै गयो, र आज यो स्थानमा ल्याइपुर्याउन सहयोग गर्यो । अझै विरोध गर्नुभयो भने अझै मन्त्री पनि बनुला, अझै त्यो भन्दा विरोध गर्नुभयो भने प्रधानमन्त्री पनि बनुँला,’मेयर राईले भने,‘विरोध नगरेको भए, मलाई विभिन्न यातना र सास्ती नदिएको भए सायद म पनि कसैलाई भोट हाल्दै बस्थे होला ।’

मेयर राईले जनसरोकार मञ्चका संस्थापक एवं स्वर्गीय कृष्णनारायण पलिखेको स्मरण गर्दै उनको जीवनी प्रकाशन गर्न पनि आग्रह गरे । पलिखेले जीवनभर निष्ठाको राजनीति गरेको उल्लेख गर्दै उनको जीवनी पढेर नयाँ पुस्तालाई प्रेरणा मिल्ने पनि उनले बताए । ‘उहाँले भ्रष्टचारविरुद्ध बोलिरहनु भयो, त्यही अभियानमा लड्दा लड्दै दिवंगत पनि हुनुभयो । उहाँको बारेमा प्रकाशन गर्नुपर्छ,’मेयर राईले भने । 

भिडियो:

mayor1