धरान: धरानमा आज कार्यपालिका सदस्यको निर्वाचन हुदैछ । 

निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि १ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको छ । मतदानबाट ८ जना कार्यपालिका सदस्यहरु निवार्चित हुनेछन् । ती मध्ये ५ जना महिला यसअघि बैशाख ३० गतेको निर्वाचनबाट नगरसभा सदस्य (वडा सदस्य)मा निवार्चित भएकाहरुमध्येबाट चुनिनेछन् भने ३ जना बाहिरबाट दलित तथा अल्पसंख्यक समुदायका व्यक्तिहरु चुनिनेछन् । यो व्यवस्था नेपालको संविधानमै गरिएको छ ।

कार्यपालिका सदस्यको लागि शुक्रबार नेकपा एमाले र गठबन्धन दलहरुले उम्मेद्वारी मनोनयन दर्ता गरेको थियो । एमालेबाट नगरसभा सदस्य रहेका ५ जना महिलाहरुबाट देवीमाया विश्वकर्मा, सावित्र परियार दर्जी, रविन गुरुङ, विनिता बज्रचार्य र सृर्जना नेपालले  कार्यपालिका सदस्यमा मनोनयन दर्ता गरेका छन् । यस्तै, दलित तथा अल्पसंख्यक कोटाबाट विकास भाटी, अनुप देवान र दिनेश विश्वकर्मालाई कार्यपालिका सदस्यमा पठाउने निर्णय एमालेले गरेको छ । 

यस्तै, गठबन्धन दलबाट नगरसभाको महिलाहरुतर्फ कांग्रेसबाट रहिसा कसजु, रिता सुन्दास, सुशिला कुमारी श्रेष्ठ, शोभा विश्वकर्माले मनोनयन दर्ता गरेका छन् भने माओवादी केन्द्रकोतर्फबाट शेषकुमारी घिमिरेले मनोनयन दर्ता गरेकी छिन् । यस्तै, दलित तथा अल्पसंख्यक कोटामा कांग्रेसले प्रेमकुमार राई र सन्तोष विश्वकर्मालाई उम्मेद्वार बनाएको  छ भने माओवादी केन्द्रबाट सर्वजित राईलाई उम्मेद्वार बनाएको छ । 

 एमालेमा भोट क्रस हुने डर !

धरानमा बैशाख ३० गतेको निर्वाचनबाट कुल १०२ जना नगरसभा सदस्यहरु निवार्चित भएका छन् । त्यसमध्ये नेकपा एमालेबाट ५६ जना निवार्चित छन् । यो नगरसभामा बहुमत सदस्य हो । 

यस्तै, नेपाली कांग्रेसबाट ३७ जना निवार्चित छन् भने माओवादी केन्द्रबाट ६ जना निवार्चित छन् । गठबन्धन दल कांग्रेस र माओवादी केन्द्र दुवैको जोड्दा पनि ४३ जना मात्र पुग्छन् । वडा १४ का अध्यक्ष राप्रपाबाट निवार्चित हुन् भने वडा ६ का अध्यक्ष स्वतन्त्र हुन् । मेयर पनि स्वतन्त्रबाट निवार्चित भएका छन् । 

कार्यपालिका सदस्यको निर्वाचनमा मतदाता १०२ जना नगरसभा सदस्यहरु नै हुन्छन् । नगरसभामा एमालेको बहुमत भएको हुनाले स्वतः एमालेका उम्मेद्वारहरुले जित्नसक्छन् । मेयर र २ जना वडाअध्यक्षले कसलाई सघाउने वा मत दिने प्रष्ट भइसकेको छैन । एमालेका १० जनाले मतदानमा क्रस गरेमा मात्र उक्त पार्टीको उम्मेद्वार पराजित हुनसक्छन् । निवार्चित जनप्रतिनिधि नै आजको निर्वाचनको मतदाता हुनाले भोट क्रस हुने सम्भावना कम छ । 

तथापी, कार्यपालिका सदस्यको लागि सिफारिश गरिएकाहरुप्रति एमालेभित्र असन्तुष्टी पनि छ । सामाजिक सञ्जाल फेसबुकमार्फत असन्तुष्टी सतहमा देखिएको छ । जसले गर्दा भोट क्रस हुने डर एमालेमा छ । सोही कारण एमालेले निवार्चितहरुलाई २ दिन धनकुटाको हिलेमा लगेर राखेको थियो । प्रशिक्षणको नाममा जनप्रतिनिधिहरुलाई लागेर मिति उल्लेख नगरिएको राजिनामा पत्रमा हस्ताक्षर गराएको बताइएको छ ।