धरान: किरात राई यायोक्खा धरान १३ वडा कार्यसमितिले निर्माण गरेको किराया खिमको उद्घाटन गरिएको छ ।

शनिबार एक समारोहबीच प्रदेश नं १ का सभामुख प्रदिपकुमार भण्डारीले रिबन काटेर नवनिर्मित भवनको उद्घाटन गरेका छन् । भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख भण्डारीले किरात समुदायको सँस्कृति, भेषभुषा, भाषा, शैलीहरु हेर्दा आफुलाई लोभ लाग्ने बताए । उनले आफु गैरकिरात कुलमा जन्मिए पनि किरात समुदायसँगै हुर्किएको भन्दै सभामुख भण्डारीले त्यसैकारणले सबै किराती सँस्कृतिमा सहभागी हुन मन लाग्ने धारणा व्यक्त गरे ।

kiraya-khim5

नेपालको राजनीतिक परिवर्तनमा योगदान दिएका समुदायले आफ्नो पहिचान र अस्तित्व खोजी गरिरहेको भन्दै उनले यायोक्खाले किरात प्रदेश नामकरणको माग गर्दै २५ लाख हस्ताक्षर बुझाएको पनि स्मरण गरे । पाँच बर्षे कार्यकाल सकिन लाग्दा पनि प्रदेश सभाबाट नामकरण हुन नसकेको भन्दै सभामुख भण्डारीले जारी अधिवेशनबाट नामकरण गर्न प्रयत्न भइरहेको पनि बताए । ‘नामकरण एउटा सभामुखले गरेर मात्र हुदो रहेनछ, एक जना मुख्यमन्त्रीले मात्र गरेर हुदो रहेनछ,’सभामुख भण्डारीले भने,‘यो पाँचबर्षमा ३ जना मुख्यमन्त्री भए, ती मध्ये २ जना त किरात राई समुदायकै हुनुहुन्छ ।’

pradeep-bhandari

सभामुख भण्डारीले राजनीतिक दलहरुको बीचमा सहमति नभएसम्म प्रदेशको नामकरण आफुले चाहेर पनि नहुने बताए । ‘राजनीतिक दलहरुले सहमति नगरेसम्म हामीले चाहेर पनि हुनसक्ने अवस्था छैन । त्यसैले यो चलिरहेको अधिवेशनमा नाम राख्न प्रयत्न गरिरहेका छौ, दलहरुलाई घचघच्याइरहेका छौ । सहजीकरण गरिरहेका छौ, आशा गरौं यो अधिवेशनभित्र नाम राख्न सकौं,’ भण्डारीले भने ।

 किरात १३ वडा कार्यसमितिका अध्यक्ष सिर्पाल राईको अध्यक्षतामा आयोजित कार्यक्रममा बिशिष्ट अतिथि धरानका मेयर हर्कराज राई (साम्पाङ), किरात राई यायोक्खा केन्द्रीय सचिव दोर्पध्वज राई, वडा नं १३ का वडाअध्यक्ष नेत्र काफ्लेले पनि मन्तव्य व्यक्त गरेका थिए । 

जग्गा दाता एवं सहयोगीहरुलाई सम्मान

kiraya-khim8

कार्यक्रममा भवन निर्माणको लागि जग्गा प्रदान गर्ने तथा आर्थिक सहयोग गर्ने व्यक्तिहरुलाई कदर पत्रमार्फत सम्मान पनि गरिएको थियो । किराया खिम निर्माणको लागि अनेरी सुवेदार मेजर देशबहादुर राई र श्रीमति राधा राईले नगद ३ लाख ५ सय ५ रुपैया नगदसहित जग्गा प्रदान गरेका छन् भने पुर्ण राई र श्रीमति पुर्णिमा राईले पनि जग्गा प्रदान गरेका छन् । जग्गा दाता परिवारहरुलाई दोसल्ला ओढाउनुका साथे कदर पत्र प्रदान गरिएको थियो ।

किराया वडा १३ का सहकोषाध्यक्ष वसन्त राईका अनुसार दुवै परिवारबाट धरान १३, स्वस्तिका गौरामार्गमा कुल साढे ९ धुर जग्गा किराया खिमको लागि प्राप्त भएको छ । उक्त भवन २८ लाख ६ सय लागतमा निर्माण सम्पन्न भएको छ । भवन निर्माणको लागि १३ नम्बर वडा कार्यालयबाट ८ लाख नगद प्राप्त भएको छ भने निवर्तमान मेयर तिलक राईको मेयर कोषबाट पनि १ लाख २५ हजार नगद प्राप्त भएको सहकोषाध्यक्ष राईले जानकारी दिए ।

kiraya-khim4

भवन निर्माणको लागि बेलायत, हङकङलगायत ठाउँहरुबाटसमेत आर्थिक सहयोग संकलन भएको थियो । कुल लागतमध्ये १८ लाख ७५ हजार ६ सय रुपैया आर्थिक सहयोग जुटाएर भवन निर्माण गरिएको यायोक्खा वडा १३ कार्य समितिले जनाएको छ ।

कार्यक्रममा जग्गा दाताबाहेक भवन निर्माणको लागि १ लाख ४४ हजार रुपैया आर्थिक सहयोग गर्ने अनेरी सुवेदार मेजर रामकुमार राईलाई फेटा गुथेर र कदर पत्रले सम्मान गरिएको थियो । यस्तै, १ लाख ५० हजार ५ सय ५५ रुपैयाको अक्षयकोष दाता विजय राईलाई पनि फेटा गुथेर र कदर पत्रसहित सम्मान गरिएको थियो । यसैगरि, भवन निर्माणमा १ लाख रुपैया आर्थिक सहयोग गरेका धरान १३ कोलेनी निबासी कुबिर सि राईलाई पनि फेटा गुथेर कदर पत्रले सम्मान गरिएको थियो । 

यायोक्खा धरान नगर कार्यसमितिले ७० हजारको विद्युतीय सामग्री र जडान पनि गरिदिएकोले धन्यवाद पत्र प्रदान गरिएको थियो भने किरात याक्थुङ चुम्लुङ वडा कार्यसमितिलाई पनि आर्थिक सहयोग दिएवापत धन्यवाद पत्र दिइएको किराया वडा १३ का अध्यक्ष र्सिपाल राईले जानकारी दिए ।

भिडियो:

भिडियो:

kiraya-khim2

kiraya-khim7