धरान: प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले धरान प्रदेशकै इज्जत र गौरव भएको चर्चा गर्दै पुरानो साख फिर्ता गर्नुपर्ने बताएका छन् ।

धरान १४ स्थित विजयपुरमा प्रहरी चौकी भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दे मन्त्री कार्कीले आधुनिकताको सहर धरान अहिले पछाडि परेको महशुस आफुले पनि गरेको बताए । पुरानो साख फर्काउने धरानबासीको अभियानमा आफ्नो पनि साथ रहने उनले बताए । मन्त्री कार्कीले भने, ‘पहिला धरानमा फेसन आउछ, र मात्र काठमाण्डौं, अन्त पुग्थ्यो । अहिले धरान पछाडि परेको महशुस गरेका छौं, यसको खास फिर्ता गर्ने अभियानमा धरानबासी लाग्नुभयो भने मेरो पनि साथ रहन्छ ।’

मन्त्री कार्कीले धरान प्रदेश १ को इज्जत र गौरव भएको जिकिर गर्दै धरानलाई विगतमा हेर्न मान्छे आउने जस्तै सहर बनाउनुपर्ने बताए । धरानलाई विगतमा जथस्तै हेर्न मान्छे आउने, कौतुहलता जगाउने धरान बनाउने आफ्नो पनि इच्छा, चाहना भएको उनले बताए । ‘धरान हेर्न जसरी मान्छे आउथे, कौतुहलता जगाउने इच्छा छ, चाहना छ । पर्यटकहरु आयो भने फेरि धनी हुन्छ,’उनले भने ।

प्रहरी हाम्रो साथी हो: मन्त्री कार्की

मन्त्री कार्कीले कानुन दण्डको लागि हो र, प्रहरी थुन्नको लागि हो भन्ने सोचाई वदल्नुपर्ने बताए । उनले प्रहरी हाम्रो साथी हो, मनको कुरा, समस्या परेको कुरा सुनाउने ठाउँ हो भन्ने सोच्नुपर्ने बताए । ‘तर्सिने ठाउँ होइन भनेर बुझ्नुपर्यो । हामी अनुशासित भयौं भने प्रहरीको थुनुवा घरको कामै छैन,’उनले भने । 

kedar-karki-minister

प्रहरीलाई सुरक्षित बनाउन यो बर्ष २ सय वटा चौकी मर्मत गरेको र ईलाका प्रहरी कार्यालय बनाइरहेको मन्त्री कार्कीले बताए । घरमा झगडा हुँदा प्रहरी गुहार्ने तर रिस उठ्दा चौकी जलाउने प्रवृत्ति पनि अन्त्य हुनुपर्ने उनले बताए । साथै, संघीयताले गर्दा नै जनताको काम, सेवा सहज भएको धारणा राख्दै उनले प्रदेश खारेजीको माग उचित नभएको पनि बताए । 

‘संघीयता नभएको भए केन्द्रमा पहुँच कस्को हुन्थ्यो ? त्यसै प्रदेश खारेज गरौं भन्ने नारा नलगाउ । देश स्वीटजरल्याण्ड बनाउ भन्नेहरुले यति सानो देशमा संघीयता, प्रदेश किन चाहियो भन्छौं । तर १५ हजारको जनसंख्यामा पनि त्यहाँ एउटा प्रदेश छ । त्यो पढ्नुपर्यो, बुझ्नुपर्यो । खर्च त बढ्छ, तर त्यो सँगसँगै सेवा कति पाइरहेको छ भन्ने पनि हेर्नुपर्छ,’उनले भने ।

धरान आएका अधिकृतहरुले काठमाण्डौंमा घर बनाएको भन्दै मन्त्री कार्कीले अहिले संघीयताको कारण यताको पैसा लगेर काठमाण्डौंमा घर बनाउन नसक्ने भएपछि तिनीहरुको छोराछोरीहरुले संघीयता खारेज गरौं भनेर लेख्ने गरेको बताए । ‘अहिले त पैसा सिधै स्थानीय तहमा आउछ । यहाँ आएको पैसा फर्केर जादैन, पहिला त फ्रिज भएको पैसा पनि कागज मिलाएर खाइदिन्थे । एउटाले पोखरी खनेको भनेर पैसा खाइदियो, अर्को आएर पोखरी देखेन, र पुरेको भनेर पैसा खाइदियो,’उनले भने,‘अहिले त्यस्तो हुदैन ।’

भिडियो: