सुनसरी: प्रदेश नं १ मा विभिन्न घटनामा ५ जनाको ज्यान गएको छ । 

विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयका अुनसार ईटहरी उपमहानगरपालिका १७ पकलि चौकमा पुर्ब पश्चिम राजमार्गमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनी नगरपालिका ५ का ७५ बर्षीय मंगलु चौधरी रहेको प्रहरीले जनाएको छ । हिजो बेलुका साढे ४ बजे पश्चिमबाट पुर्ब तर्फ आउदै गरेको को १ ख ७७९५ नम्बरको बसले बाटो क्रस गर्दै गरेको साईकल यात्रीलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट चौधरी गम्भिर घाइते भएका थिए । उनको वीपी प्रतिष्ठान धरानमा उपचारको क्रममा बेलुका साढे ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालक ईलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।

यस्तै, इटहरी १२ चौकीमोडस्थित कोशी लोकमार्गमा मोटरसाइकलको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहार घर भई हाल ईटहरी १२ स्थित रिलायन्समा काम गर्ने ५० बर्षीय लालु प्रसाद विस्वास रहेका छन् । हिजो बेलुका पौने ५ बजे उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको बागमति प्रदेश-०२-०३१ प ०६११ नम्बरको मोटरसाइकलले बाटो क्रस गर्दै गरेको साइकललाई ठक्कर दिएको थियो ।

उक्त दुर्घटनामा गम्भिर घाइते भएका साईकल यात्री विस्वासको बिराट टिचिङ अस्पतालमा उपचारको क्रममा राती साढे ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक काठमाण्डौ नागर्जुन नगरपालिका ८ बस्ने २६ बर्षीय सुभाष तामाङ र पछाडी सवार संखुवासभा शभापोखरी गाँउपालिका ६  बस्ने २५ बर्षीया शिखा लिम्बु समेत घाईते छन् । दुवैको खनारस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ भने मोटरसाइकल प्रहरी चौकी खनारको नियन्त्रणमा रहेको छ ।

यसैगरि, झापाको कनकाई नगरपालिका ८ स्थितमा रहेको पिकनिक स्पोटमा घुम्न आएका एक बालकको खोलाले बगाएर मृत्यु भएको छ । मृत्यु हुनेमा विर्तामोड नगरपालिका १ अतिथि सदन टोलका नविन ओलीको ६ बर्षीय छोरा सर्वजित ओली रहेका छन् । हिजो दिउँसो १ बजे बुबासँग घुम्न आएका बालक बिरङ खोला छेउबाट हराई बेपत्ता भएका थिए । हराएका बालकको खोजी गर्ने क्रममा हराएको स्थानबाट ५ सय मिटर दक्षिणमा बालकको मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । 

यस्तै, उदयपुर त्रियुगा नगरपालिका ३ ,मोतिगडा बस्ने २६ बर्षीय अजय मल्लिकको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ। हिजो बेलुका साढे ६ बजे अजय मल्लिक र उनको श्रीमति पुनिता मल्लिकले उनकै बहिनी शोभा मल्लिकको घरबाट करेन्ट सहितको तार टागेर गुहे खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा उक्त घटना भएको हो । घरबाट बिजुलीको तार लगेर करेन्टले माछा मार्ने क्रममा आफैंलाई करेन्ट लागेर मल्लिक बेहोस भएका थिए । उनलाई श्रीमतीले जिल्ला अस्पताल उदयपुरमा पुर्याएर उपचार गराउने क्रममा पौने ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।