धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पुर्वउपकुलपति प्रा.डा.राजकुमार रौनियारको निधन भएको छ ।

वीपी प्रतिष्ठानमा नियमित काममा फर्कने तयारी गरिरहेका डा.रौनियारको आज बिहान निधन भएको हो । प्रतिष्ठानस्थित कर्मचारी तदर्थ समितिका संयोजक राजन कोइरालाका अनुसार रौनियारलाई हिजो ब्रेन ह्यामरेज भएको थियो भने आज बिहान निधन भएको हो । 

डा.रौनियारको निधनमा दुःख व्यक्त गर्दै कोइरालाले वीपी प्रतिष्ठानलाई मात्र नभै राष्ट्रलाई नै क्षति पुगेको बताए । उनले भने,‘उहाँ गोल्डमेडलिष्ट हो । उहाँ वीपीमा प्रोफेसर भएर बस्दा मात्रै पनि वीपीले बर्षमा २ वटा कोटा पाउथ्यो,’कोइरालाले भने,‘वीपीलाई मात्र होइन, राष्ट्रलाई नै क्षति हो ।’ प्रतिष्ठानस्थित चिकित्सा तथा दन्तचिकित्सा शिक्षण कल्याण समाजका अध्यक्ष डा.अरुणकुमार सिंहले पनि रौनियारको निधन भएको पुष्टि गरे । परिवारका सदस्यसँग आफ्नो कुरा भएको भन्दै डा.सिंहले भने,‘उहाँको निधन भएको सत्य हो । मैले परिवारकै एक सदस्यसँग कुरा गरे । भोली दुहबीस्थित घरबाट अन्त्येष्टी गर्ने कुरा छ ।’

मृतक प्रा.डा.रौनियार दक्षिण एसियाली रेडियोलोजिष्ट एशोसिएशनका अध्यक्ष पनि भइसकेका व्यक्ति हुन् । रेडियोलोजीमा डा.रौनियार अन्तराष्ट्रिय क्षेत्रमा कहलिएका व्यक्ति हुन् । वीपी प्रतिष्ठानमा कार्यरत उनी रेडियोलोजी विभागका प्रमुखसमेत भइसकेका थिए भने निवर्तमान उपकुलपति पनि हुन् । अख्तियारको टोलीले घुस लिएको ८ लाख रकम उनको क्वार्टरबाट वरामद भएपछि डा.रौनियार उपकुलपति पदबाट निलम्बित भएका थिए । उनलाई हालै मात्र बिशेष अदालतले भ्रष्टचार मुद्दामा सफाई दिएको थियो । अदालतबाट सफाई पाएपछि उनी प्रतिष्ठानमा विभागको नियमित काममा फर्कने तयारी गर्दैगर्दा निधन भएको हो ।