धरान: नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रले धरान उपमहानगरपालिकाबाट करारका कर्मचारीहरुलाई नहटाउन दबाब दिएको छ । 

ती पार्टीहरुले आफ्ना निवार्चित वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुमार्फत मेयर हर्क साम्पाङ राईलाई करार कर्मचारी नहटाउन दबाब दिएको हो । हिजो (आइतबार) दिउँसो एमाले, कांग्रेस र माओवादीबाट निवार्चित वडाअध्यक्ष, कार्यपालिका सदस्यहरुले मेयर साम्पाङ र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेललाई भेटेर हाजिर हुन नदिइएका कर्मचारीहरुको करार नविकरण गर्न दबाब दिएका थिए । प्रमुख राजनीतिक दलबाट निवार्चित बहुमत कार्यपालिका सदस्यहरुले दबाब दिएपछि मेयर साम्पाङ र प्रमुख प्रशासकीय अधिकृतले केही करार कर्मचारीहरु हटाउने निर्णयमा पुर्नविचार गरेका छन् ।

मेयर साम्पाङका अनुसार लामो समयदेखि कार्यरत ८ जना ईञ्जिनियर तथा प्राविधिकतर्फका करार कर्मचारीहरुको भने करार अवधि थप्ने सहमति भएको बताए । ती प्राविधिक कर्मचारीहरुमध्ये अधिकांश राजनीतिक नियुक्ती नभै परीक्षा दिएर प्रक्रिया अनुसार नै नियुक्त भएका थिए । तर, लोकसेवा आयोगले बारम्बर करारमा लामो समय कर्मचारी राख्न नमिल्ने भन्दै आपत्ति जनाएपछि उनीहरुलाई पनि हटाउने प्रक्रिया शुरु भएको थियो । 

मेयर साम्पाङका अनुसार ती ८ जना करार प्राविधिक कर्मचारीहरुलाई लोकसेवा आयोगबाट स्थायी कर्मचारी नआएसम्म करार अवधि थप गरिने भएको छ । उपमहानगरले आयोगसँग कर्मचारी माग गर्ने र आयोगले पठाएपछि भने विदा दिइने उनले बताए । ‘आयोगसँग कर्मचारी माग गछौं, त्यहाँबाट नआएसम्मको लागि करार नवीकरण गछौं । आयोगले कर्मचारी पठाएपछि उहाँहरुलाई विदा दिन्छौं,’मेयर साम्पाङले भने । 

अन्यको हकमा के हुन्छ ?

मेयर साम्पाङले अन्य १० जना करार कर्मचारीहरुको हकमा भने करार नविकरण गर्ने सम्भावना नभएको प्रतिक्रिया दिए । ‘अरु १० जनाको हकमा करार अवधि थप भएको छैन । सम्भवत हुदैन पनि । हाम्रो नगरको बेरुजु बढाएको छ, यसले मुल्यांकनमा कम नम्बर आएर केन्द्रबाट आउने बजेट पनि घटेको छ,’उनले भने,‘म आफ्नो मान्छे लगाउने भन्दा पनि अनावश्यक भर्ति भएकाहरुलाई हटाएर बेरुजु घटाउन खोजिरहेको छुँ ।’

यता, एमालेबाट निवार्चित वडा नं १५ का वडाअध्यक्ष नरेश इवारमले भने असार २१ गते करार कर्मचारीहरुको म्याद नविकरण गर्ने कार्यपालिकाको निर्णय भएकोले उक्त निर्णय कार्यान्वयन हुनुपर्ने माग गरिएको बताए । सबै करार कर्मचरीहरुको नवीकरण गर्ने भनेर निर्णय भएको र नगरसभाबाट पनि बजेट विनियोजन गरिएकोले नविकरण हुनुपर्ने सुझाव दिइएको उनको भनाई छ । ‘खेलकुदको प्रशिक्षकहरुको हकमा समस्या छ भन्ने कुरा आयो । उनीहरु ४ जनाबाहेक सबैको नवीकरण गर्ने सहमतिमा उठ्यौं,’उनले भने । 

कार्यपालिका प्रवक्ता एवं वडा नं १७ का वडाअध्यक्ष मनोज भट्टराईले पनि कार्यपालिका बैठकले नै करारका कर्मचारीहरुको अवधि एक बर्ष थप गर्ने निर्णय भएको हुनाले सोही निर्णय कार्यान्वयन गराउन कार्यपालिका सदस्यहरुले मेयर साम्पाङलाई आग्रह गरिएको बताए । 

भिडियोसहित: