धरान: राजनैतिक भर्ती केन्द्र बनेको धरान खानेपानी व्यवस्थापन बोर्डबाट ६ जना करार कर्मचारीलाई पनि हटाइएको छ । 

मेयरमा स्वतन्त्र व्यक्ति हर्क साम्पाङ निवार्चित भएपछि राजनैतिक आडमा भर्ती भएका ६ जनालाई हटाइएको हो । बोर्डको अध्यक्ष पनि मेयर साम्पाङ नै छन् । राजनीतिक दलको आडमा भर्ना भएका उनीहरुको काम सन्तोषजनक नभएको भन्दै हटाइएको बोर्ड स्रोतले जानकारी दिएको छ । उनीहरुलाई पटक पटक सचेत गराउदा पनि नसच्चिएपछि करार नवीकरण नगरी हटाइएको एक कर्मचारीले जानकारी दिए । 

राजनैतिक आडमा नियुक्ती पाएका ती कर्मचारीहरु काम गर्न भन्दा पनि डुलेर नै समय बताउने गरेका थिए । कतिपय कार्यालय समयमा पनि नशामा लट्ठ हुन्थे । काम गर्न खटाउदा पनि काम नगर्ने गरेपनि उनीहरु राजनैतिक दलको आडमा टिकेका थिए । ‘राजनीतिक दल र नेताको आडमा नियुक्ती लिएर आएकोले हामीलाई एकदमै गाह्रो भएको थियो । काम गर्न पठाउदा कता जान्छन्, थाहै नपाउने,’एक कर्मचारीले भने,‘राजनैतिक शक्तिको आडले गर्दा उनीहरुलाई केही गर्न पनि सकिएको थिएन । अहिले स्वतन्त्र व्यक्ति आउदा कारबाही गर्न सहज भएको छ ।’

बोर्डबाट हटाइएकाहरुमा पम्प अपरेटर परमपद भट्टराई, मिटर रिडर राजिव श्रेष्ठ, भल्भ अपरेटर बलिन्द्र बिक, चौकीदार अनिस कटवाल, चौकीदार राम तामाङ र हेल्पर हेमन्त भुजेल रहेका छन् । उनीहरु कांग्रेस र एमालेको आडमा नियुक्ती भएकाहरु हुन् ।उनीहरुसँगै थप ३ जना कर्मचारीहरुलाई पनि उमेर हद र शारीरिकरुपमा पनि काम गर्न असहज हुने भएपछि सम्मानपुर्वक विदा दिइएको बोर्ड स्रोतले जनाएको छ ।