धरान: लामो समय खाली भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा संक्रमितहरु भर्ना हुन थालेका छन् । 

प्रतिष्ठानका अनुसार गत असार २५ गतेदेखि कोभिड अस्पतालमा पहिलो विरामी भर्ना भएका थिए । त्यसयता १२ जना कोरोना संक्रमित भर्ना भइसकेका छन् भने ती मध्ये ६ जना निको भएर पनि घर फर्किएका छन् । प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार एक जनाको मृत्यु पनि भएको छ । 

हाल ५ जना कोरोना संक्रमित भर्ना भएका छन् । ती मध्ये एक जना आइसियुमा रहेका छन् भने ४ जना एचडियुमा उपचाररत रहेको पनि सहप्रवक्ता डा.पोखरेलले जानकारी दिए । 'असार २५ गते पहिलो विरामी भर्ना हुनुभएको थियो । त्यसपछि विस्तारै बढ्न थालेको छ । १२ जना भर्ना भएर ६ जना घर फर्किनुभयो, १ जनाको मृत्यु भयो । अहिले ५ जना उपचाररत हुनुहुन्छ,'सहप्रवक्ता डा.पोखरेलले भने । 

डा.पोखरेलका अनुसार साउन १ गतेदेखि यता १२५ वटा पिसिआर परीक्षण भएको छ । त्यसमध्ये ४५ जना कोरोना पोजेटिभ देखिएको छ । एन्टिजेन परीक्षण गर्दा पोजेटिभ आएको रिपोर्ट यसमा उल्लेख नभएकोले अझैं धेरै संक्रमित हुनसक्ने उनले बताए । 'संक्रमण दर विस्तारै बढ्दै छ, सबै सजग हुनुपर्ने बेला भएको छ, 'उनले भने ।