धरान: अभिभावकहरुले केही निजी तथा संस्थागत विद्यालयहरुले महंगो शुल्क लिएको, आवश्यकता अनुसार चर्पी नभएको तथा व्यवस्थित नगरेको गुनासो गरेका थिए । अभिभावकहरुबाटै गुनासो आएपछि बुधबार दिउँसो २ बजे मेयर हर्क साम्पाङको नेतृत्वमा आकस्मिकरुपमा केही विद्यालयमा अनुगमन गर्ने योजना बनेको थियो । 

उपमहानगरपालिकाको शिक्षा शाखाले सञ्चारकर्मीहरुलाई पनि अनुगमन हुनुभन्दा अघि मात्र खबर गरेको थियो । मेयर साम्पाङको नेतृत्वमा दिउसो २ बजे शिक्षा महाशाखा, कार्यपालिका सदस्य, अभिभावक संघका प्रतिनिधिसहितको टोली शुरुमा धरान १५ स्थित के के इन्टरनेशनल स्कुल पुग्यो । उक्त स्कुलको पठनपाठन भने बन्द भइसकेको रहेछ । केही शिक्षक तथा कर्मचारीहरुसँग जानकारी लिएर कक्षा कोठा, किचनको निरीक्षण गरेपछि टोली धरान ९ स्थित विष्णु मेमोरियल स्कुल पुग्यो । 

bishnu1

विष्णुमा भने पढाई भइरहेको थियो । मेयर साम्पाङ जब स्कुलको प्रांगणमा पुगे, तब स्कुलमा महोल एकाएक वदलियो । विद्यार्थीहरु मेयर हर्क साम्पाङ भन्दै चिच्याउन थाले, हात हल्लाउन थाले । विद्यार्थीहरुको उत्साह र आफुप्रतिको क्रेज देखेर मेयर साम्पाङ पनि हर्षित देखिए । उनले पनि हात हल्लाउदै विद्यार्थीहरुलाई प्रतिक्रिया दिएका थिए । केही विद्यार्थीहरु त हर्क साम्पाङ भन्दै पछ्याउदै पनि थिए । 

अनुगमनमा सहभागी कार्यपालिका सदस्य विकास भाटीले मेयर साम्पाङ स्कुल पुग्दा विद्यार्थीहरुमा छाएको उत्साहले आफुलाई खुशी र भावुक बनाएको प्रतिक्रिया दिए । स्कुलका संस्थापक बेनिन्द्र कटवाल र प्रिन्सिपल निलमकुमार श्रेष्ठ पनि मेयर साम्पाङ विद्यालय पुग्दा आफ्ना विद्यार्थीहरुमा देखिएको उत्साहले खुशी थिए । 

bisunu3

संस्थापक कटवाल र प्रिन्सिपल श्रेष्ठले मेयर साम्पाङलाई विद्यालयको विभिन्न कक्षा कोठा, पुस्तकालय, कम्प्युटर ल्याब, क्यान्टिन, प्ले ग्रुपको कक्षालगायतको स्थलगत अनुगमन गराएका थिए । मेयर साम्पाङले शिक्षा स्थानीय सरकारको पनि दायित्व भएको साथै केही विद्यालयहरुको शुल्कबारे पनि गुनासो आएकोले अनुगमन गरेको बताएका थिए । उनले शिक्षा नियमावली तयारीको क्रममा रहेको भन्दै आइतबार संस्थागत विद्यालयका प्रतिनिधिहरुसँग वृहत छलफल भएको पनि जानकारी दिए । 

bishnu2

  संस्थापक कटवालले पनि स्थानीय सरकार प्रमुख अनुगमनमा आउनु ज्यादै स्वागत योग्य कुरा भएको र यसले यथार्थ पनि सरकार प्रमुखले थाह पाउने प्रतिक्रिया दिए । साथै उनले सञ्चारकर्मीहरुसँग शुल्क महंगो भएको गुनासोबारे प्रतिक्रिया दिदै स्कुलको गुणस्तर, शिक्षकहरुलाई दिने तलबलगायतको कारणले गर्दा मात्र भएको बताए । विद्यालयका शिक्षकहरुलाई सरकारी शिक्षक सरहको सेवा सुविधा भएको र पढाई पनि अब्बल भएको, सरकारले तलब वृद्धि गर्दा आफ्नो विद्यालयमा पनि बढाउनुपर्ने भएकोले शुल्क १० प्रतिशत मात्र वढाएको उनले दाबी गरेका थिए ।

भिडियो: